सुन बजारमा अवैध आयातको साम्राज्य, सरकार फेरियो तर फेरिएन तस्करीको राज्य

सरला सुवेदी, सविन ढकाल
२०८३ मंसिर ९ गते १५:४१ | Nov 25, 2026
सुन बजारमा अवैध आयातको साम्राज्य, सरकार फेरियो तर फेरिएन तस्करीको राज्य

काठमाडौं। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष साउनदेखि कात्तिकसम्म चार महिनामा सुन जम्मा २११ किलो आयात भएको छ।

GBIME
Tata

नेपाल बैंकर्स संघको मंसिर २ गतेको तथ्यांक हेर्ने हो भने १७६ किलो सुन आयात भएकामा २६ किलो बाँकी नै थियो। सुन वैधानिक रुपमा वाणिज्य बैंकमार्फत मात्रै आयात हुन्छ। बैंकले ल्याएको सुनलाई व्यावसायिक संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत बिक्री वितरणको भागबण्डा लगाइन्छ।

चार महिनाको अवधिमा आएको २११ किलो सुनले मात्रै बजार धान्छ? महासंघकै अनुसार पनि सामान्य समयमा सुनको दैनिक खपत २० किलो छ। विवाह र चाडपर्वको समयमा सुनको खपत ४० किलोसम्म हुने गर्छ। व्यावसायिक संस्थाको यो तथ्यांकले देशमा वैधानिक होइन अवैधानिक व्यापारको बोलवाला चलेको देखाउँछ, त्यो पनि राजधानीमै धेरै।

देशभर खपत हुने सुनमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकामै किनबेच हुन्छ। एक सुन व्यवसायीका अनुसार पछिल्लो चार महिनामा भोटेकोशी बाढीको समयमा मात्रै सुनको कारोबार धेरै घट्यो। र, अवैध सुन आउने क्रम पनि रोकियो।

तर, त्यसको एक महिनामै सुनको कारोबार पूर्ववत अवस्थामा आयो। ‘भोटेकोशी बाढीसँगै कारोबारमा सुस्तता आएको थियो। त्यो एक महिना भने कारोबार कम भयो। त्यो बेलामा कता बाढी आउँछ भन्ने डर त्रास मात्रै थियो,’ ती व्यवसायीले बिजमाण्डूसँग भने, ‘त्यो बेलामा सुनको अवैध आयात पनि रोकिएको थियो।’

ती व्यवसायीका अनुसार एक महिनापछि भने सुनको अवैध आयात पूर्ववत अवस्थामा फर्कियो। भोटेकोशी बाढी अघि र एक महिनापछि पुरानै चिनियाँ समूह नै अवैध आयातमा संलग्न भएको ती व्यवसायीले बताए। भोटेकोशी बाढीले सडक ध्वस्त भए पनि भरिया लगाएर समेत सुन अवैधरुपमा भित्र्याएको अनुमान गरिएको छ।

‘तपाइँले सुन अवैध रुपमा भित्र्याउने केहीलाई प्रहरीले केही समययता समातेको देखिरहनुभएको छ। रसुवा नाकाको बाटो ध्वस्त भए पनि भरिया लगाएर ल्याएको हुनसक्छ,’ ती व्यवसायीले भने, ‘अवैध रुपमा सुन भित्रिन नदिनका लागि प्रहरीले एक दुई जनालाई समाएको जस्तो गर्ने भन्दा पनि तस्करीमा संलग्नलाई निर्मम ढंगले कारबाही गर्नुपर्छ।’

ती व्यवसायीका अनुसार भन्सार छल्दा हुने २० प्रतिशत फाइदालाई हेरेर अवैध आयातको जालो बढिरहेको छ। त्यसमा हुण्डी लगायतले पनि सरप्लस हुन्छ। ‘राज्यले राजस्व हेर्नु स्वाभाविक हो। तर त्यही भन्सार तस्करी गर्नेका लागि बेनिफिट बन्ने रहेछ,’ ती व्यवसायीले भने।

अवैध सुनकै कारण ठूला व्यापारीको हिसाब गोलमाल

अवैध रुपमा भित्र्याइएको सुनकै कारण देशका ठूला व्यापारीको हिसाबकिताब गोलमाल हुने गरेको छ। आन्तरिक राजस्व विभागका अनुसार ठूला व्यापारीको ‘अकाउन्टिङ मिसम्याच’ रहेको भेटिएको छ।

‘अवैध आयातको सुन कारोबार गरेकै कारण ठूला व्यवसायीको हिसाब मिल्दैन। हामीले यसलाई मिहिन ढंगले हेरिरहेका छौं,’ विभागका एक अधिकृतले भने, ‘अवैध व्यापार निरुत्साहित गर्नका लागि पनि हामीले थप अनुसन्धान अघि बढाउनेछौं।’

केही महिनाअघि राजस्व अनुसन्धान विभागले न्यूरोडको एउटा ठूलो सुनचाँदी पसलमा छापा मारेको थियो। छापा मारेर कम्प्युटरदेखि खातापाता लिएर गइ अनुसन्धान गर्दा करोडौंको हिसाबकिताबमा गोलामाल भेटिएको थियो। स्रोतका अनुसार त्यो हिसाबकिताब देखेर राजस्व अनुसन्धान विभागका अधिकारी आश्चर्यमा परेका थिए।

‘सुन कारोबार गर्ने पसलको हिसाबकिताब हेर्दा देश नै तस्करीले चले जस्तो देखिएको थियो। यो विषयमा अहिलेको सरकारले ध्यान नै दिएको देखिंदैन,’ त्यो फाइल हेरेका एक कर्मचारीले भने, ‘सुन तस्करीको जालो तोड्न उच्च पदस्थ सरकारी अधिकारी, प्रहरीदेखि केही सुन व्यापारीमाथि निर्मम ढंगले डन्डा चलाउनुपर्छ। त्यो ताकत अहिलेको सरकारमा पनि देखिएको छैन।’

नेपाल फाइनान्सियल इक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे-लिस्टमा पर्नुमा सुनको अवैध कारोबार पनि जोडिन्छ। त्यो आधारमा अवैध आयात र कारोबारलाई रोक्नुको विकल्प छैन। सरकारले सुन खरिद गर्दा मात्रै होइन, बेच्दा पनि ग्राहकले केवाइसी फाराम अनिवार्य भर्नुपर्ने व्यवस्था गरेको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणलाई प्रभावकारी बनाउन बहुमूल्य धातुको कारोबारमा निगरानीको व्यवस्था गरिए पनि कार्यान्वयन फितलो देखिएको छ।

प्रहरी के भन्छ?

पछिल्ला केही दिनयता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिकजसो ठूलो परिमाणमा सुन तस्करी भइरहेको छ। प्रहरीले बरामद गरेको परिमाणका आधारमा सुन तस्करी नरोकिएको देखिन्छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंसिर ८ गते राति क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका दुई जना महिला पक्राउ परे। पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङकी ४५ वर्षीय लिन लिना र ३५ वर्षीय लिन जिनपिङ छन्।

भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा शरीरको संवेदनशील अङ्ग तथा भित्री वस्त्रमा प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा उनीहरूको साथमा ८ थान गोलाकार अर्धठोस पदार्थ भेटियो। प्लास्टिकको र्‍यापसहितको पदार्थको तौल २ केजी ३४८ ग्राम छ।

केही दिनअघि पनि विमानस्थलबाट सुन बरामद भएको थियो। विमानस्थलबाट सुन बरामद गरिएका पछिल्ला चार घटना हेर्दा एउटै प्रकृति देखिएको छ।

सुन ल्याउने चिनियाँ नागरिक छन्, मलद्वारमा सुन लुकाइएको छ, बरामद सुनको परिमाण झन्डै उस्तै उस्तै देखिन्छ। पक्राउ परेका केही व्यक्ति भिजिट भिसामा नेपाल आएका हुन्।

‘सामान प्रकृतिको शैली अपनाएको देखियो। अन्य कुरा पनि मिल्दाजुल्दा छन्,’ त्रिभुवन विमानस्थलमा कार्यरत एसपी ढुण्डीराज नेउपानेले भने।

प्रहरीका अनुसार तातोपानी, रसुवा र दोलखाबाट पनि भरिया प्रयोग गरेर सुन आएको हुनसक्ने आशङ्कामा अनुसन्धान गरिएको छ। ‘विमानस्थल र केही चिनियाँ नाका जोडिएका ठाउँमा अहिले निगरानी गरिरहेका छौं,’ उनले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज तेस्रो साता २२ किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

२२ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिक

प्रहरीको अनुसन्धानबाट चिनियाँ नागरिकले दुई महिनादेखि योजना बनाएको र ११ दिनमा २१ किलो ७५० सुन अवैध रुपमा भित्र्याएको देखिएको थियो। सुन तस्करीका मुख्य योजनाकार चीनको ग्वान्जाउमा बस्ने हेन जिआ लि भएको खुले पनि प्रहरीले भरियाबाहेकलाई समाउन सकेको छैन।

अहिले २२ किलो सुन र पछिल्लो पटक बरामद सुन तस्करीको कनेक्सन खोजी भएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले यसपटक सुन बरामदपछि पनि डीएसपी अनिल घिमिरेको नेतृत्वमा थप अनुसन्धान गरिरहेको छ।

‘यसपटक तस्करीको माथिल्लो तहसम्म पुग्ने भनेर अनुसन्धान अगाडि बढाएका छौं। नयाँ केही ब्रेकथु होला भन्नेमा हामी ढुक्क छौं,’ कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का

यसअघि चीन र दुबईबाट अवैध रुपमा भित्र्याइएको सुन भारत पुर्‍याउने गरिएकामा अहिले काठमाडौंकै व्यापारीले किनिरहेका छन्। ‘तस्करीको सुन नेपालभित्र नै खपत हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको छ,’ खड्काले भने।