BIZMANDU
www.bizmandu.com

बजारमा स्वदेशी सुन्तला भित्रिएपछि भारतबाट घट्न थाल्यो आयात, महँगो भए पनि ग्राहकको रोजाइमा

२०८३ मंसिर ९

बजारमा स्वदेशी सुन्तला भित्रिएपछि भारतबाट घट्न थाल्यो आयात, महँगो भए पनि ग्राहकको रोजाइमा
तनहुँको बन्दीपुर गाउँपालिका - ४ स्थित गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएको सुन्तला सिलथोकमा ल्याएर ग्रेडिङ गरी बन्दीपुर, डुम्रे ,दमौली, पोखरा र चितवनलगायत बजारमा पठाउने तयारी गरिँदै । करिब २२ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार बोटमा उत्पादन भएका सुन्तलाबाट उहाँले यस वर्ष रु २५ लाख आम्दानी गर्ने लक्ष्य लिनुभएको छ । तस्बिरः सागर गिरी/रासस

काठमाडौं। सिजन सुरु भएसँगै बजारमा स्वदेशी सुन्तला भित्रिन थालेको छ।

GBIME
Tata

केहीदिन अघिसम्म बजारमा जताततै भारतीय सुन्तला रहेकामा अब धमाधम स्वदेशी उत्पादन आउन थालेको हो।

काठमाडौंको कुलेश्वर फलफूल बजारमा स्वदेशी सुन्तला प्रति केजी ९० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको व्यापारी अमर बानियाँले जानकारी दिए। उनका अनुसार आकार अनुसार सुन्तलाको भाउ छ। साना सुन्तला प्रति केजी ९० देखि १०० सम्म र ठूला सुन्तला १२० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको हो। यो थोक मूल्य हो।

उनका अनुसार भारतीय सुन्तलाको मूल्य प्रति केजी १०० देखि ११० रुपैयाँसम्म छ। ‘स्वदेशी सुन्तला आउन थालेपछि भारतीय सुन्तलाको आयात कम भएको छ,’ उनले भने। उपभोक्ताले भारतीयभन्दा स्वदेशी सुन्तला रुचाउँछन्।

कुलेश्वर फलफूल बजार व्यवसायी संघका अध्यक्ष बानियाँका अनुसार स्याङ्जा, गोरखा, तनहुँ, म्याग्दी लगायत जिल्लाबाट हाल दैनिक २०० टन सुन्तला बजारमा आइरहेको छ।