६० एसपीको सरुवा, पहिलोपटक पूर्वानुमान सूची प्रकाशन गरेर जिम्मेवारी हेरफेर

बिजमाण्डू
२०८३ मंसिर ९ गते ०७:३० | Nov 25, 2026
६० एसपीको सरुवा, पहिलोपटक पूर्वानुमान सूची प्रकाशन गरेर जिम्मेवारी हेरफेर

काठमाडौं। नेपाल प्रहरीले पहिलोपटक पूर्वानुमान सूची प्रकाशन गरेर ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। एक वर्षभन्दा बढी समयदेखि एउटै जिम्मेवारीमा रहेका एसपीलाई लक्षित गरी सरुवा गरिएको हो।

GBIME
Tata

सरुवासँगै मोरङ, बाँके, धादिङ, उदयपुर, बारा, तनहुँ र कास्की लगायत जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। यसपटक करिब एक दर्जन जिल्लामा नयाँ प्रहरी प्रमुख खटाइएको हो।

सरुवा सूचीअनुसार धादिङमा भरत लामा, कास्कीमा मोहन खाण र कैलालीमा यादव ढकाल खटिएका छन्। त्यस्तै, पाल्पामा रविन श्रेष्ठ, तनहुँमा नरेशराज सुवेदी, बारामा कुमारविक्रम थापा, भक्तपुरमा रुकेश तन्डुकार र दाङमा श्यामु अर्यालको सरुवा भएको छ।

यसपटक प्रहरीले एसपीहरूलाई जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीका आधारमा क र ख श्रेणीमा वर्गीकरण गरेको छ। सोही वर्गीकरणका आधारमा आगामी दिनमा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी तोक्ने तयारी गरिएको छ।

प्रकाशित पूर्वानुमान सूचीमा क श्रेणीका जिल्लामा खटाउन सकिने २७ जना र ख श्रेणीका जिल्लामा खटाउन सकिने २२ जना एसपीको नाम समावेश छ। यसअघि क श्रेणीका जिल्ला सम्हालिसकेका केही एसपीसमेत ख श्रेणीको सूचीमा परेका छन्।

यसरी पूर्वानुमान सूची तयार पारेर सरुवा प्रक्रिया अघि बढाउँदा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी निर्धारणमा नयाँ अभ्यास सुरु भएको छ। यद्यपि, कुन एसपीलाई कुन जिल्लामा खटाउने भन्ने विषयमा आगामी सरुवा निर्णयले थप स्पष्ट पार्नेछ।