विराटनगर । पूर्वका व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा पूर्वका मुख्य व्यापारिक मुद्दा जुट र चियाको समस्यामा कुनै समाधान नआएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पूर्वको एक मुख्य व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघले जुट, चिया र बिआईएस प्रमाणीकरणको समस्या यथावत् रहेको भन्दै गुनासो प्रकट गरेका हुन्।
संघद्वारा प्रतिक्रिया व्यक्त गर्न आयाजित पत्रकार सम्मेलनमा अध्यक्ष अनिल शाहले जुट, चिया र बिआईएस प्रमाणीकरणको समस्या तत्कालै समाधान गर्नुपर्ने बताए।
‘जुट उत्पादनमा एन्टीडम्पिङ तथा काउन्टरभेलिङ शुल्क लगाइनाले जटिल समस्या उत्पन्न गरेको छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति लचकता अपनाइयो कि अपनाइएन, यस सम्बन्धमा हामी अनभिज्ञ छौं। यस ज्वलन्त समस्याको तत्कालै समाधान गरिनुपर्छ।’
अध्यक्ष शाहले चियाको निर्यातमा भारतीय पक्षले लगाउँदै आएको २० प्रतिशत गुणस्तर परीक्षणको प्रावधानलाई खुकुलो बनाउनु पर्ने बताए।
शाहले नेपालको निर्यातलाई प्रत्यक्ष प्रभाव पारेको बिआईएस प्रमाणीकरणको समस्यासम्बन्धी केही भए वा नभएको विषयमा पनि जानकारी नभएको उल्लेख गरे।
‘यस समस्याको तत्काल समाधान गरिनुपर्छ। नेपालमा गुणस्तर प्रमाणीकरण भएका वस्तुलाई बिआईएसले मान्यता दिनुपर्छ’, उनले भने।
शाहले विद्युत् खरिदसम्बन्धी व्यवस्था स्पष्ट पारिनु पर्ने बताए। उनले प्रसारण लाइन तथा जलविद्युत् आयोजनाका सहमति स्वागतयोग्य भएको प्रतिक्रिया दिए।
‘तर भारतले जीटुजी र बीटुबीका आधारमा नेपालको सरप्लस विद्युत् खरिद गर्ने केकस्तो व्यवस्था गरेको छ भन्ने स्पष्ट पारिनुपर्छ’, उनको भनाइ थियो।
संघका वरिष्ठ उपाध्यक्ष अनिल शारडाले यस भ्रमणले लामो समयदेखि अन्यौलमा रहेको सम्बन्धलाई लयमा फर्काएको चर्चा गर्दै यसले भविष्यमा समाधानका लागि मार्ग प्रशस्त गरेको विश्वास गर्नुपर्ने बताए।
शारडाले भने, ‘सम्बन्ध मधुर लयमा फर्किएको छ । एउटै भ्रमणमा सबै समस्या समाधान हुँदैनन्। तर भविष्यमा समाधानको बाटो खुलेको छ भन्ने विश्वास छ।’
संघका उपाध्यक्ष विकास बेगवानीले यो गुडविल भ्रमण भएको र यसबाट भविष्यमा अप्ठ्यारा गाँठाहरू फुक्तै जाने जिकिर गरे।
उपाध्यक्ष बेगवानीले अहिले भएका सहमति पूरा भए मात्र पनि मुलुकले ठुलो लाभ पाउने प्रतिक्रिया व्यक्त गरे।










