काठमाडौं। साताको दोस्रो कारोबार दिन सूचक दोहोरो अंकले बढेको छ। १६५ कम्पनीको सेयरमूल्य बढेको छ।
मंगलबार सूचक १५.३९ अंकले उकालो लागेर २६३८.९५ विन्दुमा पुगेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्। बैंकिङको सूचक सबैभन्दा धेरै १.२४ प्रतिशतले बढेको छ।
एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ। सूचकसँगै बजारमा कारोबार रकम बढेको छ। सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
सोल्टी होटल लिमिटेडको सबैभन्दा धेरै ३२ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। होटलको सञ्चालक समिति बैठकले मुनाफाबाट सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ताको रोजाइमा परेको हो।
ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख र लक्ष्मी सनराइज बैंकको २२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा १११ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ।










