काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन-ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ।
एन-ट्याग एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ।
अर्थात, एन-ट्यागको स्टिकर सवारीमा टाँसेपछि एन-ट्यागबाट आफैँ रकम कट्टा भई सुरुङमार्ग हुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ।
ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा एन-ट्याग प्राप्त गर्न सक्नेछन्।
साथै, एन-ट्याग सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ। उक्त वेबसाइटमार्फत नै अनलाइन एन-ट्याग दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिने जनाइएको छ।










