मोदीको प्रशंसाको गुच्छा बोकेर फर्किए बालेन, भारतसँग सम्बन्ध सुधार मात्रै

विज्ञान अधिकारी
२०८३ मंसिर ७ गते १७:५२ | Nov 23, 2026
मोदीको प्रशंसाको गुच्छा बोकेर फर्किए बालेन, भारतसँग सम्बन्ध सुधार मात्रै

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको बहुप्रतिक्षित भारत भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा अत्यन्तै उत्सुकतापूर्वक हेरिएको थियो।

GBIME
Tata

जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट उदाएका ३६ वर्षे प्रधानमन्त्री बालेनको भ्रमणलाई भूराजनीतिक हिसाबले पनि चासोका साथ हेरिएको थियो। वर्षौंदेखिका पुराना दललाई पराजित गरेर एकाएक सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र रहस्यको गर्भमा रहेका बालेनलाई भारतले पनि संशयकै रुपमा हेरेको थियो।

यी सबै आधारमा दुई तिहाई नजिकको रास्वपा सरकारका प्रधानमन्त्री बालेनको पहिलो द्विपक्षीय भ्रमण भारतमा गराउन सक्नुलाई दक्षिण छिमेकीले उपलब्धिकै रुपमा लिएको देखिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनसँगको वार्तापछिको पत्रकार सम्मेलनमा नेपालको भविष्यप्रति दूरदर्शी सोच रहेको भन्दै प्रशंसा गरे।

मोदी आफ्ना पाहुनालाई प्रशंसा गरेर पुलकित बनाउन माहिर मानिन्छन्। उनले बालेनलाई पनि प्रशंसाका पुष्पवृष्टि गरेर पुलकित बनाइदिएका छन्। मोदीको प्रशंसा लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता हुँदैछन्।

त्यसबाहेक वर्षौंदेखि अगाडि बढेका परियोजनाको शिलान्यास, उद्‍घाटन र हस्तान्तरणको स्वीच थिच्नेबाहेक ‘बिग डिल’ भएन। त्यसो त बालेनको भ्रमणमा ‘बिग डिल’का सम्भावना अत्यन्तै कम थियो। किनभने बालेन र उनको सचिवालयले विवादमा आउने कुनै पनि मुद्दालाई अगाडि नबढाउन भ्रमण अघि नै रणनीतिक मुभ गरेका थिए।

नेपाल-भारत नजिकका छिमेकी मात्रै होइनन्, धार्मिक, सांस्कृतिक हिसाबले धेरै निकट छन्। आर्थिक र व्यावसायिक हिसाबले झन् ठूलो सम्बन्ध छ। यी सबै निकटता हुँदाहुँदै दुई देशबीच ‘बिग डिल’ अघि बढाउन राजनीतिक जोखिम ठूलो छ। त्यो जोखिम मोल्नसक्ने हिम्मत बालेनले गर्न सकेनन्।

त्यसो त यसअघिका राजनीतिक दलले जोखिम मोलेर गरेका केही निर्णय अहिलेसम्म पनि कार्यान्वयनमा गएका छैनन्। विशुद्ध व्यापारिक हिसाबले गरिने व्यापारिक मुद्दामा सम्झौता पनि राजनीतिक हतियारका रुपमा परिणत हुने त्रासले बालेन सरकारले पुराना मुद्दालाई छुने आँट गरेन। सीमा विवादलाई बालेन सरकारले नछुने रणनीति नै लिएको थियो। वर्षौंदेखिको एयररुटमा ब्रेकथ्रु हुन सकेन।

भारत काठमाडौं-भैरहवा-लखनउ दुईतर्फी उडान अनुमति दिन सहमत भएको भनिए पनि प्राविधिक परामर्शपछि मात्रै उडान गर्न दिने संयुक्त विज्ञप्तिमा उल्लेख छ। भारतले बागडोगरा विमानस्थलबाट मागेको उडान अनुमतिको सर्तकै कारण पनि नेपालले मागेको जनकपुर, भैरहवा र महेन्द्रनगरबाट मागेको दुईतर्फी एयररुट पाउन सकेन।

नेपालले बागडोगरामा भारतीय सेनाको एयरवेश रहेको र सबै प्रकारका जहाजको उडान अनुमति दिने विषयमा असहमति जाहेर गरेको थियो।

यो भूराजनीतिक मुद्दा जोडिने भएकाले समेत रास्वपाका सभापति रवि लामिछानेले विवादित मुद्दामा नपस्न आग्रह गरेका कारण बालेनले ब्रेकथ्रु गर्ने सम्भावना कम थियो। एयररुटसँगै भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको प्रभावकारी उपयोग गर्ने सम्भावना पनि तत्कालका लागि टरेको छ। नेपालले ऋणमा बनाएका यी दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलमाबाट भारतका विभिन्न गन्तव्यमा उडान गर्ने योजना तत्कालका लागि तुहिएको छ।

यो भ्रमणमा सबैभन्दा बढी ‘लाउड’ सुनिएको घोषणा २ खर्ब ४० अर्ब रुपैयाँको प्याकेज मात्रै हो। त्यसमा पनि भोटेकोशी बाढीबाट क्षतिग्रस्त भएका पूर्वाधारको पुनर्निर्माणका लागि ५६ अर्ब रुपैयाँ मात्रै अनुदान छ। १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण हो। अनुदान कार्यान्वयनको विषय कसरी अगाडि बढ्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ।

समग्रमा प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय सम्बन्ध सुधारको एउटा कडी मात्रै बन्न पुगेको छ। आफू र आफ्नो टिमले द्विपक्षीय सम्बन्ध सुधारलाई मात्रै प्राथमिकतामा राखेकाले ठूला लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गर्ने मामिलामा बालेन चुकेका छन्।

बालेनले भ्रमणलाई अर्थतन्त्र, व्यापार र पर्यटन प्रवर्धन केन्द्रित गर्न सकेनन्। उनले आफूसँगै लगेका ५२ जना उद्योगी व्यवसायी र भारतीय लगानीकर्तासँग छलफल गरेको भए केही परिणाम आउन सक्थ्यो। नेपाल-भारत बिजनेस फोरममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गरे। त्यसमा पनि सहभागी अधिकांश नेपाली लगानीकर्ता थिए।

सीआईई र नेपाल उद्योग वाणिज्य महासंघले गरेको कार्यक्रममा भारतीय निजी क्षेत्रको सहभागिता न्यून रह्यो। लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघले भारतीय ठूला कम्पनीका २० जना प्रमुख कार्यकारी अधिकृत बोलाएर गर्न लागेको छलफल कार्यक्रम अन्तिम समयमा रद्द गरियो। प्रधानमन्त्री बालेनले निजी क्षेत्रसँग छलफल गरेर लगानीका लागि कन्भिन्स गराउने एउटा महत्वपूर्ण अवसर खेर फालेका छन्।

यद्पी बालेनको भारत भ्रमणले दुई देशबीच संवादसँगै आर्थिक सहकार्यको वातावरणको प्लेटफर्म तयार गरेको छ। त्यही प्लेटफर्मका आधारमा द्विपक्षीय लगानी विस्तारको बाटो तय हुनसक्छ।