भरतपुरमा मंसिर अन्तिम साता ‘बिल्ड नेपाल एक्स्पो’, घरजग्गाको कारोबार बढाउन पुग्ला सहयोग?

बिजमाण्डू
२०८३ मंसिर ६ गते ११:२३ | Nov 22, 2026
भरतपुरमा मंसिर अन्तिम साता ‘बिल्ड नेपाल एक्स्पो’, घरजग्गाको कारोबार बढाउन पुग्ला सहयोग?

काठमाडौं। सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित यही मंसिर अन्तिम साता भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुने भएको छ।

GBIME
Tata

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघमा एक्स्पो हुने भएको हो।

संघका अध्यक्ष बाबुराम अधिकारीले एक्स्पोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई एक्स्पोले नयाँ गति दिने विश्वास व्यक्त गरे।

‘घरजग्गा तथा निर्माण क्षेत्रमा आएको सुस्तताले यससँग जोडिएका उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभाव पारेको छ। यस्तो अवस्थामा स्वदेशमै लगानीको वातावरण सिर्जना गर्ने, आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने र व्यवसायी तथा उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले हामीले बिल्ड नेपाल एक्स्पो आयोजना गर्न लागेका हौं। यो एक्स्पोले व्यवसाय प्रवर्धनसँगै समग्र निर्माण क्षेत्रलाई चलायमान बनाउने विश्वास छ,’ उनले भने।

नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवर्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने बताए।

एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र निर्माणसम्बन्धी विभिन्न उत्पादन तथा सेवा प्रदर्शन गरिने छ। घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर र सुरक्षासम्बन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी स्टल रहनेछन्। आयोजकले करिब २५ हजार जनाले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ। इच्छुक प्रदर्शकका लागि स्टल बुकिङ खुला गरिएको छ।