सगरमाथा क्षेत्रमा बढ्यो चिसो, खुम्बुमा जम्न थाल्यो पानी, पर्यटकले छोट्याउन थाले बसाइँ

बिजमाण्डू
२०८३ मंसिर ६ गते ०९:२७ | Nov 22, 2026
सगरमाथा क्षेत्रमा बढ्यो चिसो, खुम्बुमा जम्न थाल्यो पानी, पर्यटकले छोट्याउन थाले बसाइँ

सोलुखुम्बु। चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्रमा पर्यटकले बसाइँ अवधि छोट्याउन थालेका छन्। यहाँ आउनेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। जिल्ला प्रहरी कार्यालयको साप्ताहिक तथ्यांक अनुसार खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।

GBIME
Tata

प्रहरीका अनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन्। प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिनेको सङ्ख्या ६५१ ले बढी छ।

तथ्यांकले शरद पर्यटन ‘सिजन’ क्रमशः सकिँदै गएको संकेत गरेको छ। प्रहरी निरीक्षक मौसम तामाङका अनुसार बाहिरिने विदेशी पर्यटकको सङ्ख्या ८७७ र स्वदेशी पर्यटकको सङ्ख्या ३०३ छ। सोही अवधिमा खुम्बु क्षेत्रमा ३७४ विदेशी र १५५ जना स्वदेशी पर्यटक भित्रिएका छन्।

विवरणअनुसार खुम्बु क्षेत्रबाट बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन्। स्वदेशी पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष बाहिरिएका छन्। यसैगरी, खुम्बु क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने स्वदेशी पर्यटकमध्ये ५४ महिला र १०१ पुरुष छन्।

खुम्बुमा चिसो बढेसँगै पर्यटकहरु फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताए। ‘नाम्चेमै राति तापक्रम माइनसमा जान थालेको छ। पानी जम्न सुरु भएको छ, त्यसैले चिसो बढेको महसुस भएको हो,’ उनले भने।

सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्दछ। मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढ्ने गरेको पाइन्छ। तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्दै जाने, राति अत्यधिक चिसो हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कने क्रम तीव्र हुने गरेको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने बताए। सिजनको अन्तिमतिर मौसमको अवस्था, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले यात्रा व्यवस्थापन गर्ने भएकाले फर्कने क्रम बढ्ने उनको भनाइ छ। खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै शेर्पाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव पर्ने बताए। रासस