काठमाडौं। पोखरा एभेन्जर्सपछि जनकपुर बोल्ट्स र कर्णाली याक्स पनि प्लअफ पुग्ने होडबाट बाहिरिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चितवन राइनोजले जनकपुरलाई हराएसँगै दुई टोली प्लेअफको होडबाट बाहिरिएका हुन्।
अघिल्लो संस्करणका फाइनालिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाइसकेका छन्। अब प्लेअफको बाँकी दुई स्थानका लागि काठमाडौं, चितवन र विराटनगरको प्रतिस्पर्धा छ।

अब यो होडमा पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स छैनन्। यी तीन टोलीमध्ये पनि काठमाडौं ८ अंकसहित बलियो स्थितिमा छ भने चितवनले पनि अर्को खेल जिते पुग्छ। विराटनगरले भने अर्को खेल जितेर पनि चितवनको हार या काठमाडौंको भारी हार भएमात्रै प्लेअफ पुग्न सक्छ।
आज सम्पन्न दोस्रो खेलमा चितवनले पहिलो संस्करणको च्याम्पियन जनकपुरलाई ४ विकेटले हरायो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले निक्कै मुस्किलले १७.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
चितवनलाई लक्ष्यसम्म पुर्याउन डेभिड मलानले सर्वाधिक अविजित ३५ रनको योगदान दिँदा कुशल मल्लले १५ तथा रवि बोपाराले १३ रनको योगदान दिए। बलिङमा जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ तथा विशाल सुस्लिङले १ विकेट लिए पनि टोलीलाई रोक्न सकेनन्।

टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो। यसक्रममा जनकपुरका कप्तान हरमीत सिंहले सर्वाधिक २५ रन बनाउँदा विशाल सुस्लिङले १५ रन तथा सन्तोष कार्कीले १० रन बनाए।

बलिङमा चितवनका रञ्जित कुमारले ३ विकेट लिँदा सिकन्दर राजा र कमिल मिश्रले समान २ तथा कमल ऐरी र रिजन ढकालले समान १ विकेट लिए। रञ्जितले ३ ओभर बलिङ गर्दा मात्रै २ रन खर्चिए।
यसरी एनपीएलमा ब्याटिङ चल्न छाडेको यो पहिलो खेल भने होइन। आजै सम्पन्न पहिलो खेलमा पनि सुदुरपश्चिमले दिएको १२५ रनको सामान्य लक्ष्य नै काठमाडौंले भेट्न सकेन। शुक्रबार पनि कर्णालीले दिएको १०५ रनको लक्ष्य भेट्टाउन निक्कै धौधौ परेको लुम्बिनीले ६ विकेट गुमाएर १६.४ ओभरमा भेट्टाएको थियो।

शनिबार एनपीएलमा एक खेलमात्रै छ।









![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)