डिजिटल रूपान्तरणमा नेपालले खोज्यो इस्टोनियाको साथ, मन्त्रीले गरे सहकार्यको प्रस्ताव

बिजमाण्डू
२०८३ कात्तिक २६ गते १६:४७ | Nov 12, 2026
डिजिटल रूपान्तरणमा नेपालले खोज्यो इस्टोनियाको साथ, मन्त्रीले गरे सहकार्यको प्रस्ताव


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रुपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिका लागि इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टासँग छलफल गरेका छन्।

GBIME
Tata

उनले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को विश्व दूरसञ्चार नीति मञ्चमा सहभागी हुने क्रममा कतारको दोहामा इस्टोनियाकी मन्त्रीसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा सहकार्यका विषयमा छलफल गरेका हुन्।

सञ्चारमन्त्री तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताएको उनको सचिवालयले जनाएको छ।

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा नागरिककेन्द्रित बनाउन इस्टोनियाले विकास गरेको प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो।

इस्टोनियाले डिजिटल पहिचान, तथ्यांक सुरक्षित आदानप्रदान, विद्युतीय हस्ताक्षर तथा अनलाइन सार्वजनिक सेवा प्रणाली विकास गरेको छ।

सञ्चारमन्त्री तिमिल्सिनाले इस्टोनियाको प्राविधिक ज्ञान, अनुभव र सफल अभ्यास आदानप्रदानबाट नेपालको सार्वजनिक सेवा प्रवाहलाई थप डिजिटल, एकीकृत तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको तिमिल्सिनाको सचिवालयले जनाएको छ।