लुम्बिनी लायन्स पछिल्ला १० खेलयता अपराजित, लगातार जितको रहस्य के?

मुकुन्द घिमिरे
२०८३ कात्तिक १९ गते १९:४० | Nov 5, 2026
लुम्बिनी लायन्स पछिल्ला १० खेलयता अपराजित, लगातार जितको रहस्य के?


काठमाडौं। एनपीएलको साविक विजेता लुम्बिनी लायन्सको लय यसपालि पनि निकै लोभलाग्दो छ। दोस्रो संस्करणको लिग चरणमा सुदूरपश्चिम रोयल्ससँग पराजय ब्यहोरेपछि उसले यो सिजनसम्म एउटै खेल हारेको छैन। दुई संस्करणमा गरेर लुम्बिनी १० खेलयता अपराजित छ।

GBIME
Tata

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर ८ विकेट गुमाएर १३३ रनमा समेटियो। लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा कायम रहन सफल भयो।

लुम्बिनीले यसपालि टोलीमा धेरै परिवर्तन गरेको छैन। विदेशी खेलाडीसमेत पुरानैलाई निरन्तरता दिएको लुम्बिनीको टिम गेम गज्जबको छ। लुम्बिनीले जारी संस्करणमा सुदूरपश्चिम, पोखरा र जनकपुरलाई हराउँदा चितवनसँगको खेल वर्षाले रद्द भएको थियो।

लुम्बिनीका प्रशिक्षक टिनु योहानन जितको कारण टिम गेम देख्छन्। ‘खासै रहस्य छैन,’ जनकपुरविरुद्धको जितपछि उनले भने, ‘आजको खेल हेर्नुभयो भने पनि कहिले यता, कहिले उता भइरहेको थियो। टस हारेको क्षण निकै महत्त्वपूर्ण थियो। तर पनि खेलाडीहरूले परिस्थितिमा कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरा नै मुख्य हो।’

पोखराविरुद्ध रोहित पौडेल र निरोशन डिक्वेलाको ब्याटिङ।

उनका अनुसार टिमलाई धेरै पटक कठिन अवस्था आयो र हरेक पटक कुनै न कुनै खेलाडीले जिम्मेवारी लिए। ‘यो सामूहिक प्रयास हो। सबै एकजुट भएर एउटै इकाइका रूपमा खेलिरहेका छन्। मेरो विचारमा यही हाम्रो रहस्य हो,’ उनले भने।

कठिन अवस्थामा अनुभवको काम

जनकपुरविरुद्ध लुम्बिनीको ब्याटिङ अपेक्षाअनुसार थिएन। पावरप्लेको अन्त्यमा टिम ३९ रनमा १ विकेटको अवस्थामा थियो। तर त्यहाँबाट अनुभवी खेलाडीले खेल सम्हाले।

‘रोहित पौडेलजस्ता खेलाडीको अनुभव काम लाग्यो,’ प्रशिक्षक योहाननले भने, ‘उनीहरूले अवस्था विश्लेषण गरे, पिचको प्रकृति बुझे र पार स्कोर कति हुन्छ भन्ने जानेका थिए।’

गत वर्षका धेरै खेलाडी कायम राखिएकाले त्यसको फाइदा भएको उनको भनाइ छ। ‘विशेषगरी डार्सी सर्टजस्ता विदेशी खेलाडीको गत वर्षको अनुभवले यो वर्ष मद्दत गरिरहेको छ,’ उनले भने।

जनकपुरविरुद्ध लुम्बिनीका डार्सी सर्ट र रोहित पौडेल

बलियो बेन्च, सन्तुलित टिम

लुम्बिनीसँग आठौं नम्बरसम्म ब्याटिङ गर्ने सुविधा रहेको योहानन बताउँछन्। स्थानीय ब्याटरको राम्रो समूहमा दिलीप नाथ थपिएका छन्। योहाननका अनुसार बेन्चको बलियो उपस्थितिले मैदानमा रहेका ११ जनालाई पनि प्रेरित गरेको छ।

‘आकाशजस्ता खेलाडी बाहिर बसेका छन्। अघिल्लो खेल जिताउने आरिओ यादव पनि बाहिर बसेका छन्। यसले भित्र खेल्नेहरूलाई उच्च प्रदर्शन गर्न प्रेरित गर्छ,’ उनले भने।

गत सिजनको लय कायम

गत सिजन लुम्बिनीको सुरुवात निकै कठिन थियो। प्रतियोगिताबाटै बाहिरिने अवस्थाबाट टिमले पुनरागमन गर्‍यो। योहाननका अनुसार त्यही मनोबल अहिलेसम्म कायम छ।

‘गत वर्ष हामी प्रतियोगिताबाट लगभग बाहिरिने अवस्थामा थियौं। हरेक खेल जित्नैपर्ने थियो र हामीले लगातार छ खेल जित्यौं। त्यतिबेला हामीले कुनै कुरालाई सजिलै लिन सक्ने अवस्था थिएन। त्यही वातावरण अहिलेसम्म कायम छ,’ उनले भने।

धेरैजसो खेलाडी गत वर्ष पनि ड्रेसिङ रुममा रहेकाले संकटमा कसरी पुनरागमन गर्ने भन्ने खेलाडीहरूलाई थाहा रहेको उनले बताए। ‘टिममा विश्वास अहिलेसम्म उत्कृष्ट छ,’ उनले भने।

पुराना खेलाडीमाथि विश्वास

सिजन सुरु हुनुअघि अन्य टिमले ठूला नाम भित्र्याउँदा लुम्बिनीले आफ्नै खेलाडी कायम राख्यो। त्यतिबेला धेरै फ्यान खुसी थिएनन्, तर अहिले नतिजा आएपछि भावना बदलिएको छ।

लुम्बिनीको सेलिब्रेसन। फाइल फोटो।

योहाननका अनुसार ठूलो नाम भित्रिँदा कसै न कसैले, खासगरी स्थानीय खेलाडीले मौका गुमाउने जोखिम हुन्छ।

‘अभिषेकले गत सिजन हाम्रा लागि निकै राम्रो गरे। ठूलो खेलाडी आउँदा उनी सिधै बाहिरिन्थे। त्यसैले मैले आग्रह गरेको थिएँ कि गत सिजन हाम्रा लागि राम्रो गर्ने खेलाडीलाई नै साथ दिऔं। उनीहरूले एक पटक गरेका छन् भने फेरि पनि गर्न सक्छन्। मलाई विश्वास छ,’ उनले भने।

सिजन अझै बाँकी रहेकाले टिममा नयाँ खेलाडी थपिन सक्ने सम्भावना उनले नकारेनन्। ‘अझै समय बाँकी छ, कोही पनि आउन सक्छ, भन्न सकिँदैन,’ उनले भने।