राष्ट्रसंघीय सम्मेलनमा विराजभक्त : जलवायु विपद्को सामना गर्न क्षेत्रीय सहकार्य गरौं

बिजमाण्डू
२०८३ कात्तिक ११ गते ११:४० | Oct 28, 2026
राष्ट्रसंघीय सम्मेलनमा विराजभक्त : जलवायु विपद्को सामना गर्न क्षेत्रीय सहकार्य गरौं


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन्।

GBIME
Tata

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगले थाइल्याण्डको बैंकक गरेको एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनको उद्‍घाटन सत्रमा बुधबार श्रेष्ठले जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिएका हुन्।

उनले हालै भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीले भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराए।

मन्त्री श्रेष्ठले सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्यांक साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन अपिल गरेका छन्।

उनले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०१%) रहे पनि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याए।