काठमाडौं । १४ वर्षअघिको रक्तचन्दन मुद्दामा पक्राउ परेका ठेकेदार नविन बस्नेत धरौटीमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंमा सोमबार हाजिर भएका बस्नेतलाई न्यायधीश कोशलेश्वर ज्ञवालीको इजलासले धरौटी माग गरेको हो। बस्नेतले अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा असोज २३ गते अवैध रुपमा रक्त चन्दन ओसार पसार गरेको आरोपमा मुद्दा दायर भएको थियो।
नेपाल प्रहरीले २०६९ चैत १८ गते बा १ ख ५७५९ नम्बरको ट्रक काठमाडौंको गोठाटारबाट नियन्त्रणमा लिएको थियो। त्यसमा रक्तचन्द बरामद् भएको थियो।
प्रहरीले ट्रक चालक भीमबहादुर सुनुवार र सहचालक खेमबहादुर सिंहलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर गरेको थियो। चालक र सहचालक दुवैले बालुवा लग्ने भन्दै नवीन बस्नेतले नै टेलिफोन गरेको बयान दिएका थिए।
दोलखाका बस्नेत त्यतिबेला निर्माण सामग्री बालुवा गिट्टीको कारोबार गर्थे। सुनुवारले बयानमा गाडीको अगाडि पछाडि बस्नेतले फलो गरेको बताएका थिए।
रक्तचन्दन बरामद भएको गाडी रमेश प्रजापतिको थियो। प्रजापतिले प्रहरीमा २०६९ कात्तिक २४ गते करार नामा गरी प्रति महिना २५ हजार रुपैयाँ दिने गरेर बस्नेतले गाडी लगेको बताएका थिए। यी सबै आधारमा रक्तचन्दन तस्करीमा सीधा जोडिएका थिए बस्नेत।
तर, बस्नेत वतन नखुलेकाे भन्दै सेटिङकै आधारमा उम्किए।
चालक सुनुवार र सहचालक सिंह दुवै जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७२ असार ८ गते नै दोषी ठहर गर्दै थुनामा पठायो।
उनीहरुविरुद्ध ४० दिन न्यायिक हिरासतमा बसिसकेकाले बाँकी ४ महिना २० दिनको कैद सजाय र ३ लाख ६१ हजार ६०० रुपैयाँ जरिवानाको फैसला भएको थियो।
१४ वर्षपछि बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोही मुद्दामा असोज २३ गते पक्राउ गरेको थियो। अदालतको आदेशमा उनी भने हाजिरी जमानीमा रिहा भएका छन्।









