चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशालाको प्रगति ६५% मात्रै, पुसमा निर्माण नसकिने निश्चित

बिजमाण्डू
२०८३ कात्तिक १० गते ०९:४६ | Oct 27, 2026
चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशालाको प्रगति ६५% मात्रै, पुसमा निर्माण नसकिने निश्चित


काठमाडौं । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ।

GBIME
Tata

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा केही ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काममा ढिलाइ भएको हो।

रंगशाला निर्माणका लागि महानगरपालिकाले ७० प्रतिशत बागमती प्रदेशबाट भुक्तानी हुने गरेर सम्झौता गरेको थियो। प्रदेशको बजेट निकासा हुन ढिलो भएकाले काम प्रभावित भएको उनले बताए।

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ।

यस्तै, निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारणले समयमै निर्माणको काम गर्न नसकिएको निर्माण कम्पनी व्यवस्थापक सम्राट सिलवालले बताए। उनले पुरानो संरचनामा निर्माण कार्य गरिएकाले प्राविधिक निर्णयहरू एकापसमा बाँझिदा निर्माणमा पनि समस्या आएको बताए।

अहिले मुख्यगरी मैदानको काममा ढिलाइ हुँदा समयमै निर्माण सम्पन्न नहुने निश्चितजस्तै छ। त्यसैकारण निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग निर्माणको काम सक्न म्याद थप माग्ने तयारी गरेको छ। सम्झौता सकिनु ३५ दिन अघि म्याद थपका लागि निवेदन दिनुपर्ने हुन्छ।

निर्माण अवधि सकिनै लाग्दा रंगशालाको पहिलो भेरिएसन अर्डर (भिओ) असोज २८ मा स्वीकृत भएको छ। सुरुवाती चरणमा ७८ करोड ५० लाख ९१ हजार (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा अब लागत बढेर ८६ करोड २४ लाख ८४ हजार पुगेको छ। यसले लागत मात्रै वृद्धि नभई निर्माणको काम पनि थपिएको छ। त्यसकारण पनि सम्झौताअनुसारको समयमा निर्माण सम्पन्न नहुने निर्माण कम्पनीले जनाएको छ।

भरतपुर महानगरका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार मुख्य रुपमा मैदाानको काम बाँकी छ। मैदानमा चार तह माटो राखेर त्यसभित्र पाइप हाल्न बाँकी छ । त्यसमाथि नरम माटो राखेर बरुणा नामको घाँस रोपिने छ। यसका अतिरिक्त दुई वटा टावरको काम अन्तिम चरणमा पुगेको छ। चार वटा प्यारापिटमध्ये दुई वटा सकिएको छ भने तेस्रो ९० प्रतिशत र चौथो ७० प्रतिशत प्रगति भएको छ।

विद्युत् जडानको काम पनि बाँकी नै छ। निर्माण कम्पनीले नियमित रुपमा काम गरेमा धेरै समय नलाग्ने आचार्य बताउँछन्। अहिले दैनिक ८० जना हाराहारीले काम गरिरहेको उनले जानकारी दिए। दसैं बिदाको समयमा समेत काम भएको उनको भनाइ छ।

भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर विसं २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बिबीआर जेभीसँग सम्झौता गरि रंगशाला निर्माणको काम अघि बढाएको थियो।

धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम गर्न नसक्ने जनाउँदै महानगरलाई दायित्व सुम्पिएपछि महानगरले बागमती प्रदेश सरकारको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानी सुनिश्चित गरेर अलपत्र अवस्थामा परेको रंगशालाको निर्माण अघि बढाएको थियो।

चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राईनोज समेत रहेकाले र पछिल्लो समय एनपिएलको क्रेज बढेकाले अन्तर्राष्ट्रियस्तरका खेल चितवनमा खेलाउन यो रंगशाला छिटो सम्पन्न गर्न दबाब छ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई महानगरको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए। उनले कम्पनीलाई छिटो काम सम्पन्न गर्न आग्रह गर्दै आएको पनि दाबी गरे।

गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिला भए पनि अन्य सबै काममा महानगरले सहजीकरण गरेको उनको भनाइ छ।

‘रंगशाला छिटो सम्पन्न गर्न हामीले निर्माण कम्पनीलाई भनिरहेका छौं। अब धेरै ढिलो हुँदैन,’ उनले भने।

देशभर क्रिकेट खेलको लोकप्रियता बढिरहेकाले छिटो रंगशाला सम्पन्न गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल भरतपुरमा गर्न महानगर आतुर रहेको अधिकारीको भनाइ छ। रासस