दसैं अवधिमा एक हजार ३३९ सवारी दुर्घटनाः १२४ को मृत्यु, तीन हजार जना घाइते

बिजमाण्डू
२०८३ कात्तिक ९ गते २१:४३ | Oct 26, 2026
दसैं अवधिमा एक हजार ३३९ सवारी दुर्घटनाः १२४ को मृत्यु, तीन हजार जना घाइते


काठमाडौं। दसैंको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ।

GBIME
Tata

प्रहरी प्रधान कार्यालयको अनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए।

दुई हजार ९८८ जना घाइते भएका छन्। घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्। उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन्।

काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन्। दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल सङ्लग्न रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन्। गत वर्ष दसैं अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए।

५ हजार बढी चालकमाथि कारबाही

दसैं अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन्।

यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो।

४०८ यात्रु सहायता कक्ष स्थापना

प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो। अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो।

दसैंपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको छ। रासस