म्याग्दी। पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ। कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन्। चराहरूको चिरबिरसँगै हिमाल विस्तारै खुल्दै जान्छन्।
सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन्। प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिलमा पर्यटकको चहलपहल बढेको छ।
दसैंअघि सुनसान बनेको घोडेपानी पुनहिलमा पछिल्ला दिनमा पर्यटकको आगमन बढ्न थालेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए। ‘बाढी पहिरोका कारण असोजमा सुनसान थियो। तर कात्तिक लागेपछि दैनिक २०० हाराहारी विदेशी र ५० हाराहारीमा नेपाली पर्यटक आइरहेका छन्,’ उनले भने।
पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी व्यस्त भएका छन्। घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बिदा र अनुकूल मौसमका कारण पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरेको बताए। घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल छन्।
समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल घोडेपानीको प्रमुख आकर्षण हो। यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ्रे, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुरा अवलोकन गर्न सकिन्छ।
सूर्योदयसँगै सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि पनि पुनहिल पर्यटकको रोजाइमा पर्ने गरेको छ। पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी-पुनहिल छोटो अवधिको पदयात्राका लागि पनि लोकप्रिय छ। रासस










