फेरि घुमफिरमै टुंगियो एसियाड, ‘दोहोरो अंकको पदक’ हौवाबाट फेरि ‘लगानी पुगेन’को धरातल पुग्ने डेजाभू

मुकुन्द घिमिरे
२०८३ कात्तिक ६ गते ०७:३६ | Oct 22, 2026
फेरि घुमफिरमै टुंगियो एसियाड, ‘दोहोरो अंकको पदक’ हौवाबाट फेरि ‘लगानी पुगेन’को धरातल पुग्ने डेजाभू


काठमाडौं। डेजाभू – नेपाली खेलकुदमा अहिले ठ्याक्कै लागु हुन्छ। फ्रेन्च भाषामा यसको शाब्दिक अर्थ हुन्छ : पहिले नै देखिसकेको। यो त्यो अनुभूति हो जसमा कुनै नयाँ ठाउँ, घटना वा परिस्थितिमा पुग्दा ‘यो त मैले पहिले पनि भोगिसकेको या देखिसकेको हो’ भन्ने लाग्छ।

GBIME
Tata

जापानमा यसै महिना एसियाली खेलकुद टुंगिएको छ। अघिल्ला संस्करणमा जे भयो लगभग त्यही नै यसपाला पनि भयो। नेपालले सँधै झै यसलाई घुमफिरको माध्यम त बनायो न्युन उपलब्धिसँग।

‘स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउँछौँ’ भन्ने वाचा यसापाला पनि खेलकुदका पदाधिकारीले गरेर हिँडेका थिए। नेपालको हाता लाग्यो दुईवटा काश्य पदक। बाँकी खेलमा नेपालको सम्झनलायक चुनौती नै एकदम कम रह्यो। यसअघि चीनमा सम्पन्न एसियन गेम्समा पनि नेपालले दुई पदकमै चित्त बुझाएको थियो।

जापानमा नतिजा खराब आएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)का राष्ट्रिय टोली तयारीका नेतृत्वहरु नै बोली फेर्न थालिसकेका छन्। गुनासा पनि नयाँ छैनन् – तिनै पुराना :  ‘खेलाडीलाई डाइट’ नै पुगेन। प्रशिक्षण पुगेन। पूर्वाधार पुगेन।

स्वर्णसहित दोहोरो अंकको पदक हात पार्न हिँडेको नेपाली खेलकुद दुई कास्यमा समेटिएर बल्ल बहस खेलाडीको डाइटसम्म पुगेको छ।  यसले प्रश्न उठाउँछ – राष्ट्रिय टोली तयारी भनेर गरेको लगानी के भयो? किन चुक्यो नेपाल? यसको जिम्मेवारी लिएर कसैले राजीनामा दिनु किन नपर्ने?

राखेपका पूर्वसदस्यसचिव तथा कराँते महासंघका अध्यक्ष युवराज लामा विशेषगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्व र कार्यशैली, सरकारको खेलकुद क्षेत्रमा लगानी, नेपाल ओलम्पिक कमिटीको भूमिका, राष्ट्रिय खेल संघहरूको जिम्मेवारी, राजनीतिक दलहरूको खेलकुदमा हुने हस्तक्षेप तथा राखेपका कर्मचारीहरूको भूमिका र प्रवृत्ति लगायतका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने देखिएको दाबी गर्छन्। उनी आँफै पनि यो प्रश्नबाट टाढा चाहीँ छैनन्।

‘खेलाडीले मैदानमा आफ्नो क्षमताअनुसार प्रदर्शन गर्ने हो। तर खेलाडी तयार पार्ने प्रणाली, वैज्ञानिक प्रशिक्षण, प्रशिक्षकको विकास, अन्तर्राष्ट्रिय एक्सपोजर खेल विज्ञान, पूर्वाधार, आर्थिक व्यवस्थापन र दीर्घकालीन राष्ट्रिय खेलकुद नीतिको जिम्मेवारी सम्बन्धित निकायहरूको हो,’ उनको तर्क छ, ‘त्यसैले २०औँ एसियन गेम्सलाई केवल कति पदक जित्यौँ? भन्ने प्रश्नमा सीमित नगरी, हामीले कस्तो राष्ट्रिय टिम तयार गरिरहेका छौँ, हाम्रो खेलकुद प्रणाली कहाँ छ र आगामी पुस्ताका लागि कस्तो संरचना निर्माण गर्दैछौँ? भन्ने प्रश्नका रूपमा पनि हेर्न आवश्यक छ।’

उनीजस्तै अहिले धरातलमा उत्रिएको बहस फेरि सुरु भएको छ। यसअघिको एसियन गेम्समा पनि यस्तै भएको थियो। फेरि केही समयमा जस्ताको तस्तै स्थितिमा खेलकुद चलेकै थियो।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि एसियन गेम्सका लागि गरेको लगानी किन बालुवामा पानी भयो भन्नेमा दोष अरुतिर मोड्न थालिसकेका छन्।

‘एसियन गेम्स लगायत हरेक खेलकुद क्षेत्रमा आज लगानी गरेर भोलि नै मेडल आउने भन्ने हुँदैन। खेलकुद र शिक्षा दुवै क्षेत्र यस्ता हुन् कि सही तरिकाले लगानी गर्‍यो भने वर्षौंपछि मात्र त्यसको प्रतिफल देखिन थाल्छ,’ उनको तर्क छ, ‘ओलम्पिक, एसियन गेम्स लगायत जुनसुकै खेलमा पनि हामी अघि बढ्न र मेडल ल्याउन नसक्नुको कारण ग्रासरुटमा राम्रोसँग लगानी गर्न नसक्नु हो।’

यसकै लागि पूर्वाधार मन्त्रालय र राखेपले पूर्वाधार निर्माणका लागि काम सुरु गरिसकेको उनको तर्क छ। राखेपको संरचनामा राष्ट्रिय टोली तयारी भन्ने छुट्टै संरचना बनाएर करोडौँ लगानी गरे पनि यसपाला केही फेरिएन।

बाँकी त एसियन गेम्समा डेजाभू नै चल्यो। उही क्रिकेटको क्वाटरफाइनलसम्मको यात्रा। महिला कबड्डीको कास्य। चीनको पदक तालिकामा दबदबा। जापान दोस्रो। र, अर्को पाला स्वर्ण जितौंला भन्ने नेपालको सपना।