काठमाडौं। उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यसहित सुरु गरिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारणलाइन आयोजना अन्तर्गत मातातीर्थ-चोभार खण्डको एउटा सर्किट सञ्चालनमा आएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर उपत्यकामा १३२ केभी प्रसारण लाइनको ‘रिङ संरचना’ निर्माण गर्ने लक्ष्यका साथ करिब २७ वर्षअघि सुरु गरिएको आयोजना जग्गा विवाद र स्थानीयको अवरोधका कारण पूर्ण हुन नसकेकामा मातातीर्थ-चोभार खण्ड भने सञ्चालनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।
‘मातातीर्थबाट चोभार १३२ केभी लाइन चार्ज भएको छ। अब हामीले धेरै लोड चाहिँ चोभारतिर डाइभेट गर्छौं,’ उनले भने, ‘यो प्रसारणलाइन संचालनमा आएसँगै उपत्यकाको लोड व्यवस्थापनमा ठूलो सहयोग हुन्छ।’

चोभार सबस्टेसन र चोभार-लगनखेल भूमिगत प्रसारण लाइन पूर्णरूपमा सञ्चालनमा आएपछि खासगरी ललितपुर र समग्रमा काठमाडौं उपत्यकाकै विद्युत् आपूर्ति प्रणाली थप सुदृढ हुने श्रेष्ठले बताए।
काठमाडौं उपत्यकामा विद्युतको माग निरन्तर बढ्दो क्रममा छ। उपत्यकाको विद्युत् माग सन् २०३० सम्म ९२५ मेगावाट, २०४० सम्म १ हजार ८२५ मेगावाट र २०५० सम्म ३ हजार १६९ मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ।
ललितपुरको विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न वैकल्पिक उपायका रूपमा चोभारमा १३२ केभी सबस्टेसन निर्माण गर्ने तथा त्यहाँबाट लगनखेलसम्म भूमिगत १३२ केभी प्रसारण लाइन र सबस्टेसन बनाउने प्रक्रिया अघि बढाइएको थियो।
योजना कार्यान्वयनका क्रममा हिमाल सिमेन्टको १२ रोपनी १२ आना जग्गा भाडामा लिन भएको प्रक्रियागत जटिलता र स्थानीय स्तरमा अवरोधले समस्या भएको थियो।

पूर्वऊर्जामन्त्री कुलमान घिसिङ तीव्र रूपमा बढिरहेको विद्युत मागलाई सम्बोधन गर्न योजनावद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिन्छन्।
‘थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारणलाइन आयोजना आयोजनाअन्तर्गत अघि बढाउनुपर्ने कतिपय काम ठप्पप्रायः छन्। यो चिन्ताको विषय हो। योजनावद्ध रुपमा काम नगर्ने हो भने प्राधिकरणको प्रणालीले माग धान्न सक्दैन,’ उनले भने।










