काठमान्डु गोर्खाजको अब्रोड स्टडी पार्टनरमा क्लाउड एजुकेसन, द्विपक्षीय सम्झौतामा हस्ताक्षर  

बिजमाण्डू
२०८३ असोज २३ गते २१:०८ | Oct 9, 2026
काठमान्डु गोर्खाजको अब्रोड स्टडी पार्टनरमा क्लाउड एजुकेसन, द्विपक्षीय सम्झौतामा हस्ताक्षर  


काठमाडौं।  काठमान्डु गोर्खाजले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजसँग अब्रोड स्टडी पार्टनरको रूपमा सम्झौता गरेको छ।

GBIME
Tata

सम्झौतामा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र क्लाउड एजुकेसनका निर्देशक आयुष गौतमले हस्ताक्षर गरेका छन्। सम्झौताअनुरूप काठमान्डु गोर्खाजको आधिकारिक जर्सीको नन लिडिङ आर्ममा क्लाउड एजुकेसनको लोगो हुनेछ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौतापछि भने, ‘क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजलाई अफिसियल अब्रोड स्टडी पार्टनरको रूपमा काठमान्डु गोर्खाज परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। जसरी हाम्रो टोलीले मैदानमा युवा खेल तथा प्रतिभाहरूलाई सशक्त बनाउन काम गर्छ, त्यसरी नै क्लाउड एजुकेसनले नेपाली युवाहरूलाई विश्वस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको सही मार्गदर्शन दिएर सशक्त बनाउँदै आएको छ। जर्सीको नन लिडिङ आर्ममा उहाँहरूको उपस्थिति रहनुले महत्त्वाकांक्षा, युवा सशक्तीकरण र अन्तर्राष्ट्रिय सफलताको हाम्रो सोचलाई दर्साउँछ।’

शैक्षिक तथा भिसा परामर्शदाता संस्था क्लाउड एजुकेसनले अस्ट्रेलियालगायत विश्वका प्रमुख अध्ययन गन्तव्यहरूका शीर्ष विश्वविद्यालय तथा कलेजहरूमा नेपाली विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न सहज र मार्ग निर्देशन प्रदान गर्दै आएको जनाएको छ।

क्लाउड एजुकेसन ग्रुप प्रालिका निर्देशक गौतमले नेपालमा क्रिकेट खेल मात्र नभएर ठूला सपना देख्न प्रेरित गर्ने एउटा भावना भएको र काठमान्डु गोर्खाजसँग सहकार्य गरेर देशभरका विद्यार्थी र प्रशंसकहरूसँग जोडिन चाहेको जनाए।