नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू आज बिहानैदेखि विभिन्न मतदान केन्द्रमा लाइन लागेका छन्।

मतदान आज दिउँसो ३ बजेसम्म संचालन हुने भनिएको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्दैछन्।
निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहको ‘क’ केन्द्रमा तथा कोशी प्रदेश र तराई-मधेश समूहका प्रतिनिधिले खुलामञ्चको ‘ख’ केन्द्रमा मतदान गरिरहेका छन्।

गण्डकी प्रदेशका प्रतिनिधिका लागि हिमाल हलमा मतदानको व्यवस्था गरिएको छ। मधेश प्रदेशका प्रतिनिधिले तराई-मधेश हलमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिले पहाड हलमा मतदान गरिरहेका छन्।


















