सुदूरपश्चिममा आर्थिक वर्षको तीन महिना बित्न लाग्दा पनि आएन बजेट, कांग्रेसको आपत्ति

बिजमाण्डू
२०८३ असोज २२ गते ११:५१ | Oct 8, 2026
सुदूरपश्चिममा आर्थिक वर्षको तीन महिना बित्न लाग्दा पनि आएन बजेट, कांग्रेसको आपत्ति


काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दा पनि अझै बजेट नल्याएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ।

GBIME
Tata

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रेस विज्ञप्ति जारी गरी बजेट शून्यताको अवस्था हुनु गम्भीर र चिन्ताजनक विषय भएको बताएका छन्।

सरकार बजेटको तयारी र निर्णय कार्यान्वयनमा असफल भएको कांग्रेसको आरोप छ। ‘कार्य व्यवस्था परामर्श समितिमा आफ्नै निर्णयअनुसार सरकारले बजेट प्रस्तुत गर्न सकेन। सरकार बजेटको तयारी र निर्णय कार्यान्वयनमा असफल देखिएको छ,’ शाहले विज्ञप्तिमा भनेका छन्।

असोज २० गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २१ गते बजेट प्रस्तुत गर्ने निर्णय भएको थियो। बजेट शून्यताका कारण प्रदेश सरकारका नियमित गतिविधि, विकास निर्माणका काम, अत्यावश्यक सेवा तथा कर्मचारीको तलबभत्ता वितरणमासमेत समस्या देखिएको छ।

सामान्यतया प्रदेश सरकारले आर्थिक वर्ष सुरु नहुँदै अर्थात असार १ गते बजेट ल्याउने अभ्यास छ। तर, एमालेले कांग्रेसको साथ छोडेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग गठबन्धन गरेपछि सुदूरपश्चिममा बजेट ल्याउनै विलम्ब भएको हो। गठबन्धनमा परिवर्तनपछि शाहको ठाउँमा गत साउन २९ गते नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका थिए। उनले सरकार गठन भएको ५५ दिन भइसक्दा पनि बजेट ल्याउन नसकेका हुन्।

कांग्रेसले बजेट अध्यादेशबाट ल्याए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।