काठमाडौं। चीनको उत्पादन सस्तो भएकाले ज्याकेट, जुत्ताचप्पलदेखि इलेक्ट्रिक सामानसम्म सबैको पहुँचभित्र थियो। काठमाडौंका मल हुन् या भृकृटीमण्डपको सस्तो बजार, चिनियाँ सामान नै हुने गर्छन्।
चीनसँग सीमा जोडिएको र नाका सहज भएकाले पनि सस्तैमा उपभोक्ताले पाएका थिए। तर, त्यही चिनियाँ सामान महँगिएको छ। त्यो चीनको कारण नभई भोटेकोशी बाढीले रसुवा नाकासँगै तातोपानी पनि बन्द हुँदा महँगिएको हो।
व्यवसायीका अनुसार कोरला नाकाबाट ल्याउँदा ढुवानी भाडा महँगो भएको छ। अहिले बाढीले मुस्ताङको पुलमा क्षति पुर्याउँदा कोरला नाकाबाट सामान आउन सकेको छैन। तर, एउटा मात्रै नाका कोरला खुल्दा एक कन्टेनर ल्याउँदा पाँच लाखसम्म भाडा लिने गरेका छन्।
व्यवसायीका अनुसार ढुवानी भाडाका कारण चीनबाट आउने सामान झण्डै ३० प्रतिशत महँगो भएको छ। तातोपानी र रसुवा नाकाबाट एकदिनमै सामान काठमाडौं आउने गर्थ्यो। त्यसरी आउने कन्टेनरको भाडा डेढ लाख रुपैयाँसम्म थियो।
तातोपानी-काठमाडौंको दूरी १ सय १३ किलोमिटर र रसुवा-काठमाडौंको दूरी १ सय ७५ किलोमिटर छ। तर, मुस्ताङ-काठमाडौंको दूरी पाँच सय किलोमिटर छ। चिनियाँ सामानका आयातकर्ता रमेशकुमार श्रेष्ठले मुस्ताङबाट काठमाडौंसम्म एक कन्टेनर सामान ल्याउन पाँच लाख रुपैयाँभन्दा बढी तिर्नुपरेको बताए।
‘रसुवा नाका चल्दा दुई लाख रुपैयाँ थियो। तर, जब भोटेकोशी बाढीले तहसनहस बनायो। त्यसपछि एकाएक मुस्ताङबाट सामान ल्याउने कन्टेनरको भाडा बढाइयो,’ उनले भने, ‘यसले चिनियाँ सामानको मूल्य ३० प्रतिशतसम्म बढेको छ।’
उनका अनुसार पछिल्लो बाढीले मुस्ताङबाट पनि सामान आउन छाडेको र दसैंमा महाबौद्धमा नयाँ सामान नै पाउन सकिँदैन।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले ढुवानी महँगो भएपछि उपभोक्तालाई थप भार परेको बताए।

‘मुस्ताङबाट सामान ल्याउँदा कन्टेनरको भाडा बढ्यो। त्यो भाडा सामानमा जोड्नै पर्यो,’ उनले भने, ‘दसैंमा आएका सामान पनि उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आएको छ।’
कार्कीले बाटोको कारण पनि व्यवसायीले सामान आयात गर्न समेत ईच्छुक हुन छाडेको बताए।
छैन नयाँ सामान
दसैंका लागि नयाँ सामान बजारमा देखिँदैन। न्यूरोडमा नाम चलेका पिनट्स स्टोर र ताम्राकार हाउसमा नयाँ सामान छैनन्। नाका बन्द भएकै कारण पुरानै सामान बिक्रीका लागि राखिएको छ। काठमाडौंका अन्य व्यावसायिक मलमा पनि हालत त्यही छ।
महाबौद्धमा रहेका धेरै होलसेल पसलमा पूराना सामान राखेको भेटिएको छ। इन्द्रचोकका व्यवसायी कुमार कार्कीले दसैंका लागि आयात गरेको सामान कोरलामै रोकिएको जानकारी दिए।
‘मेरो तीन कन्टेनर सामान कोरला नाकामै रोकिएको छ। मेरोजस्तै हालत धेरै व्यवसायीको छ,’ उनले भने, ‘यो वर्ष नयाँ सामान पाउने सम्भावना छैन। पुरानो स्टक सामान बेचिरहनुपरेको छ।’
महाबौद्धमा जुत्ता पसल रहेका ज्योति श्रेष्ठले पनि पुरानो सामान नै बेच्नुपरिरहेको बताए।
‘केहीले नयाँ सामान ल्याएका छन्। त्यो एकदमै सीमित थियो, महँगो पनि,’ उनले भने, ‘पछिल्ला केही वर्षदेखि दसैंको व्यापारमा एकपछि अर्को विपत्ति बेहोर्दै आएकोमा यो पटक संकटमै पार्ने गरी प्रभावित बनाएको छ।’








