काठमाडौं। नेपालमै बसेर आफ्नो पहिचान बनाउन खोज्ने युवाहरूको कथा रहेको कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ। लेखक सरोज भट्टराईको यो उपन्यासमा प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै मातृभूमिप्रतिको आत्मीय भावना समेटिएको छ।
कृति लोकार्पणमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नबिल बैंकका सीईओ मनोज ज्ञवाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी लगायतको उपस्थिति थियो। दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरे।
लेखक भट्टराईले ‘कलेजी प्रेम’ केवल प्रेमकथामा सीमित कृति नभई समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक प्रयास भएको बताए। उनका अनुसार प्रेम सम्बन्धमा आउने उतारचढावसँगै पात्रहरू कसरी आफ्नो समाज, मातृभूमि र देशप्रतिको जिम्मेवारीसँग जोडिन्छन् भन्ने कुरालाई एउटै संवेदनात्मक यात्रामा बुनिएको छ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने धेरै युवाको जीवनसँग मेल खाने बताए। देशप्रतिको नागरिक दायित्वमा जोड दिँदै कार्कीले लेखकसहित युवालाई आफ्नो सीप र ज्ञान देश निर्माणमा प्रयोग गर्न आग्रह गरे।








