काठमाडौं। सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिवमा बढुवा गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मैनालीलाई सचिवमा बढुवा गरेको हो। मैनालीलाई बढुवासँगै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ।
पूर्वाधार विकास मन्त्रालय असोज १४ गतेदेखि नेतृत्वविहीन थियो। यो मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १३ गते अवकाश पाएका थिए। त्यसपछि मैनालीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो।
बैठकले नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ र
वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा दर्ता भएका मुद्दा फिर्ता गर्न सकिने/नसकिने सम्बन्धमा पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको छ।











