काठमाडौं। सुनको मूल्य एक सातामै प्रति तोला ३८ हजार ९०० रुपैयाँ घटेपछि बजारमा माग उच्च भएको छ।
मंसिरमा बिहेको लगन सुरु भएसँगै सुन सस्तिँदा ग्राहकले खरिद बढाएका छन् भने माग धान्न वाणिज्य बैंकहरूले आयात प्रक्रिया अघि बढाएका छन्।
तिहारअघि प्रति तोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य एक सातामा घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको छ। यस अवधिमा चाँदीको मूल्य पनि प्रति तोला ७४५ रुपैयाँले घटेको छ।
एक वर्षअघि मंसिर ४ गते सुनको मूल्य प्रति तोला २ लाख ४३ हजार रुपैयाँ थियो। त्यतिबेला चाँदी प्रति तोला ३ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।
एक वर्षदेखि निरन्तर बढ्दै प्रति तोला साढे ३ लाख रुपैयाँसम्म पुगेको सुनको मूल्य अहिले घटेपछि ग्राहक खरिदमा आकर्षित भएका छन्। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रति औंस ३ हजार ५२६.२६ डलर र चाँदीको मूल्य ४१.४१ डलरमा झरेको छ।
सुनचाँदी व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै घटेर प्रति औंस २ हजार ५०० डलरको हाराहारीमा पुग्न सक्ने अनुमान गरेका छन्। यद्यपि, यस्तो अनुमानले बजारमा मूल्य थप घट्ने अपेक्षा बढाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले मूल्य घटेपछि देशभर सुनको माग बढेको बताए। उनका अनुसार विवाहको सिजन र घट्दो मूल्यका कारण लामो समयपछि बजारमा सुनको उच्च माग देखिएको हो।
अहिले न्यूरोडलगायत काठमाडौंका विभिन्न स्थानमा रहेका सुन पसलमा ग्राहकको चहलपहल बढेको छ। उपत्यकाबाहिरका जिल्लामा पनि सुनको माग उच्च रहेको जानकारी आएको शाक्यले बताए।
उनका अनुसार उपत्यकामा दैनिक करिब १०० किलो सुनको माग देखिएको छ। तिहारअघिसम्म बजारमा दैनिक १० किलोभन्दा बढी सुनको माग थिएन।
माग बढ्दै गएपछि बजारमा सुन अभाव हुन सक्ने व्यवसायीको अनुमान छ। तिहारअघि सुनको माग न्यून हुँदा दसैँअघि आयात गरिएको सुन वाणिज्य बैंकहरूमा मौज्दात थियो।
बानेश्वरस्थित काठमाडौं अर्नामेन्टका संचालक धर्मसुन्दर शाक्यले मूल्य घटेपछि सुन खरिद गर्ने ग्राहक दैनिक बढिरहेको बताए। विवाहको सिजनमा एक सातामै प्रति तोला ३८ हजार रुपैयाँभन्दा बढी मूल्य घट्दा ग्राहकलाई राहत मिलेको उनको भनाइ छ।
कतिपय ग्राहकले पुराना गहना ल्याएर थप सुन जोड्दै नयाँ डिजाइनका गहना बनाइरहेका छन्। यसले गर्दा व्यवसायीलाई नयाँ कच्चा सुन खरिद गर्नुपर्ने आवश्यकता तुलनात्मक रूपमा कम भएको छ।
तिहारअघि सुनको मूल्य उच्च हुँदा व्यवसायीले बैंकबाट पर्याप्त सुन खरिद गरेका थिएनन्। अहिले व्यवसायीसँग मौज्दात कम र बजारमा माग उच्च रहेकाले समयमा आयात नभए उपलब्ध सुनले माग धान्न नसक्ने अवस्था रहेको व्यवसायीको भनाइ छ।
४ वटा बैंकले सुन आयात गर्दै
माग बढेपछि वाणिज्य बैंकहरूले सुन आयात गर्न थालेका छन्। महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार उपत्यका र बाहिरका बजारका लागि ४ वटा बैंकमार्फत सुन आयात प्रक्रिया अघि बढाइएको छ।
हाल २ वटा बैंकमा पहिले आयात गरिएको थोरै सुन मात्रै मौज्दात छ। तत्कालको माग व्यवस्थापन गर्न ४ वटा बैंकले १०० किलो सुन खरिद गर्न लागेको शाक्यले बताए।
पहिले मूल्य महँगो हुँदा व्यवसायीले बैंकबाट सुन खरिद गरेका थिएनन्। अहिले बजारमा माग बढेपछि व्यवसायी बैंकमा सुन खरिदका लागि धाउन थालेको महासंघले जनाएको छ।









