काठमाडौंको लाइफलाइन सडक खुल्यो, उपत्यकामा होल्ड भएका ग्यास बुलेट पृथ्वी राजमार्गबाट पठाइँदै

बिजमाण्डू
२०८३ असोज १२ गते १८:२९ | Sep 28, 2026
काठमाडौंको लाइफलाइन सडक खुल्यो, उपत्यकामा होल्ड भएका ग्यास बुलेट पृथ्वी राजमार्गबाट पठाइँदै


काठमाडौं। लगातारको बाढीका कारण दर्जनौं स्थानमा खसेको पहिरोका कारण शनिबारदेखि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

Vigo
GBIME
Tata

गजुरी नजिकको पहिरो पन्छाएसँगै राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

गजुरी गाउँपालिका-२ चालिसे र गजुरी गाउँपालिका-५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेको थियो। कृष्णभीर लगायत ठाउँमा खसेको पहिरो भने यसअघि नै हटाइएको थियो। मलेखुदेखि मुग्लिन खण्डमा मात्र आइतबार डेढ दर्जन ठाउँमा पहिरो खसेको थियो।

काठमाडौंको लाइफलाइन मानिने राजमार्गमा पहिरो पन्छाउनका लागि आइतबार अपरा्हन मौसममा सुधार आएसँगै सडक विभागले दुई दर्जनभन्दा बढी हेभी इक्विपमेन्टसहितका जनशक्ति परिचालन गरेको थियो।

सडक खुलेसँगै काठमाडौं उपत्यकामा होल्ड भएका खाली ग्यास बुलेट धमाधम पठाउन सुरु गरिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाली बुलेट पठाएर परीक्षण गर्न लागिएको बताए।

‘नागढुंगाबाट बुलेट पठाउन थालिएको छ। काठमाडौंमा रोकिएका ६० वटा जानेछ। ती बुलेट गएपछि उता ग्याससहित रोकिएका १६० बुलेट ल्याउन सुरु हुन्छ,’ उनले बिजमाण्डूसँग भने, ‘डेढ लाखभन्दा बढी सिलिण्डर काठमाडौंमा आउनेछन्। हामी दैनिक ६० हजार सिलिण्डर बजारमा पठाउने तयारीमा छौं।’

उनका अनुसार तीन दिन ६० हजारका दरले ग्यास सिलिण्डर बजारमा पठाउन सकिए काठमाडौंमा अभाव धेरै हदसम्म हट्नेछ।