काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार नढल्नेमा निर्धक्क हुन आग्रह गरेका छन्।
उनले आइतबार नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटनका अवसरमा प्रधानमन्त्री र आफूबीच कामको बाँडफाँड भएको र त्यही अनुसार नै सरकारले काम गरिरहेको बताए। उनले सरकार नढल्ने बरु सरकार ढल्छ भन्नेहरु चाहिं बेहोस भएर ढल्न सक्ने बताए।
‘सरकार कमजोर भयो। अहिले ढल्छ। भोलि ढल्छ। दसैंमा ढल्छ, तिहारमा ढल्छ। ढल्छ भनेको बडो सुन्छु। ढल्न त ढल्छ। तर सरकार ढल्छ भनेको मानिसचाहिं सरकार नढलेको देखेर बेहोस भएर ढल्छ। सरकार ढल्दैन। विल्कुल ढल्दैन,’ उनले भने, ‘हामीले काम बाँडफाँड गरेका छौं। पार्टीले बोलाएका बैठकमा प्रधानमन्त्री नआएको विषयलाई अतिरञ्जित नगर्न आग्रह गर्छु।’
रविले सरकारले काम गर्न नसके अर्को चुनावमा रास्वपालाई डाँडा कटाइदिए फरक नपर्ने बताए। ‘यो पाँच वर्ष रास्वपाले काम गर्न सकेन भने सबैभन्दा पहिले रास्वपाको सदस्यता च्यात्नुहोला। यति भन्न सक्ने आँट हामीले राखेका छौं,’ उनले भने।

उनले सरकारको नियत सही रहेको र अरु दलले चिन्ता गरेजस्तो सरकारका कारण लोकतन्त्र खतरामा नपर्ने बताए।
‘मुलुक कतै अप्ठेरोमा पर्ने त होइन? ट्र्याकभन्दा कतै बाहिर गइरहेको त छैन? अन्तर्रारष्ट्रिय सम्बन्ध बिग्रिने त होइन? अर्थतन्त्र डामाडोल हुने त होइन? यहाँहरुका चिन्ता जायज छन्। यहाँहरुलाई विश्वस्त तुल्याउन चाहन्छु हामी लोकतान्त्रिक मूल्य र मान्यताबाट डेग चल्नेवाला छैनौं। परिवर्तनको रक्षा गर्न अग्रपंक्तिमा उभिने छौं,’ उनले भने, ‘सरकारको नियत सही छ। कुनै निर्णय विवादमा पर्न सक्छ। हामी सच्याउँछौं। लोकतन्त्रप्रतिको प्रतिबद्धतामा दायाँबायाँ हुँदैन। वैदेशिक नीति, अर्थतन्त्र, लोकतन्त्रलाई कमजोर हुन दिने छैनौं।’











