दुई महिनामा मधेसमा ४५९ विपद्का घटनाः ९२ जनाको मृत्यु, मृतकमध्ये २६ बालबालिका

बिजमाण्डू
२०८३ असोज १७ गते २०:१६ | Oct 3, 2026
दुई महिनामा मधेसमा ४५९ विपद्का घटनाः ९२ जनाको मृत्यु, मृतकमध्ये २६ बालबालिका


जनकपुरधाम। मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन्। घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।

Vigo
GBIME
Tata

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन्।

उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण, डुबानलगायत विपद्का घटना भएका छन्। विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

विपद्का विभिन्न घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी रहेको छ। दुई महिनाको अवधिमा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

त्यसैगरी पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ। जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना तथा आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य विभिन्न विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य छ। बाढी, डुबान तथा पानीमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकासमेत पर्ने गरेका छन्।

मधेसमा वर्षायामसँगै बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ। यस अवधिमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा जलाशयमा डुबेर मानिसको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनाको अवधिमा आगलागीका मात्रै ११२ घटना भएका छन्। आगलागीका कारण ठूलो मात्रामा धनमालको क्षति भएको छ। त्यसैगरी करेन्ट लागेका १०७ घटना भएका छन्। पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएको प्रहरीले जनाएको छ।

आगलागी र करेन्टसँग सम्बन्धित घटनाको सङ्ख्या उल्लेख्य देखिए पनि यी घटनामा मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी तथा जनचेतनाको भूमिका महत्त्वपूर्ण हुने बरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए।

विपद्का ४५९ घटनाबाट रु दुई करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आगलागीका घटनाबाट मात्रै २१२ परिवारका घर जलेका छन्। आगलागीबाट दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ। चट्याङबाट तीन लाख, जंगली जनावरको आक्रमणबाट दुई लाख ७२ हजार तथा अन्य विभिन्न विपद्का घटनाबाट चार लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सो अवधिमा भएका विपद्का घटनाबाट ५१० परिवार प्रभावित भएका छन्। विपद्का कारण कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयको घर तथा सम्पत्तिमा क्षति पुगेको छ। बाढी तथा डुबानका कारण ग्रामीण क्षेत्रमा रहेका बस्ती, सडक तथा अन्य संरचनामा असर पर्ने गरेको छ। वर्षायाममा नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको बरिष्ठ प्रहरी उपरीक्षक ढकालको भनाइ छ।

विपद्का समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायले समन्वय गर्दै आएको उनले बताए।

विपद् व्यवस्थापन तथा उद्धार कार्यका क्रममा दुई हजार ८६९ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले विपद्का घटनामा उद्धार, खोजी, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ। बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थामा प्रहरी टोलीलाई तत्काल परिचालन गर्ने गरिएको छ।

मधेस प्रदेशका आठ वटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिने गरिएको उनले बताए। रासस