रसियाले युक्रेनको राजधानी कीभस्थित दोस्रो प्रमुख पुलमा आक्रमण गरेको छ। आक्रमणबाट पुल क्षतिग्रस्त भएको छ।
शनिबार बिहान पिभनिच्नी पुलमा भएको आक्रमणमा दुई जना घाइते भएका छन्। सडक र ट्रलीबसका तारमा पनि क्षति पुगेको कीभका मेयर भिटाली क्लिच्कोले बताए।
आक्रमणपछि सहरको पूर्वी र पश्चिमी भागबीच आवागमन प्रभावित भएको छ। पुलमा सवारी आवागमन रोकिएपछि कीभका विभिन्न सडकमा जाम लागेको छ।
यसअघि रसियाली ड्रोनले पिभदेन्यी पुलमा पटक-पटक आक्रमण गरेका थिए। ड्नीप्रो नदीमाथिका यी दुवै पुल कीभको पूर्वी र पश्चिमी क्षेत्र जोड्ने प्रमुख संरचना हुन्।
रसियाले यी पुल युक्रेनी सैनिक र सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने दाबी गरेको छ। मस्कोले विदेशी नागरिक तथा कूटनीतिज्ञलाई कीभ छाड्नसमेत पुनः आग्रह गरेको छ।
पुलमाथिको आक्रमणले सडकसँगै रेल र ट्रलीबस सेवामा समेत असर परेको छ। अन्य मार्गमा समेत ड्रोन आक्रमणको जोखिमका कारण प्रतिबन्ध लगाइँदा सहरको यातायात थप प्रभावित भएको छ।
कीभमा करिब ३० लाख मानिस बसोबास गर्छन् भने धेरै नागरिक दैनिक आवागमनका लागि मेट्रोमा निर्भर छन्। लगातार पुलमाथि आक्रमण भइरहे सहरको पूर्वी र पश्चिमी भागबीचको सम्पर्क गम्भीर रूपमा प्रभावित हुनेछ।
यसअघि पिभदेन्यी पुलमाथि भएको आक्रमणपछि कीभको रक्षा परिषद्ले शुक्रबार आकस्मिक बैठक बोलाएको थियो। त्यसपछि मेयर क्लिच्कोले सहरको महत्त्वपूर्ण पूर्वाधार, आवास र आपूर्ति व्यवस्थामाथि आक्रमण भइरहेको बताएका थिए।
विशेषज्ञहरूले ड्रोन आक्रमणबाट तत्काल पुल भत्किने सम्भावना कम रहेको बताएका छन्। तर, दोहोरिने आक्रमणले पुल बन्द गर्नुपर्ने अवस्था आउन सक्ने र संरचनामा दीर्घकालीन असर पर्न सक्ने उनीहरूको भनाइ छ।
थप शक्तिशाली हतियार प्रयोग भए पुल पूर्णरूपमा भत्किन सक्ने जोखिमसमेत रहेको बताइएको छ। लामो समयदेखि क्षमताभन्दा बढी यातायातको भार थेगेका कारण केही पुलको संरचनात्मक अवस्थामाथि पनि प्रश्न उठाइएको छ।
युक्रेनी सांसदहरूले कीभका पुलको अवस्थाबारे हालै छलफल गर्दै वैकल्पिक योजना तयार पारेका थिए। कुनै पुल नष्ट भए सहरको सम्पर्क कायम राख्न फेरी तथा अस्थायी पोन्टुन पुल प्रयोग गर्ने विकल्पबारे छलफल भएको थियो।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणको जवाफमा आफूहरूले आक्रमण गरिरहेको दाबी गर्दै आएका छन्। उनले युक्रेनले रसियाली तेल प्रशोधन केन्द्र र ब्ल्याक सीमा रहेका जहाजमाथि आक्रमण गरेपछि त्यसको प्रतिकार गरिएको बताए।
युक्रेनले भने रसियाली ऊर्जा पूर्वाधारमाथि आक्रमण युद्ध सञ्चालनका लागि प्रयोग हुने स्रोत कमजोर पार्ने उद्देश्यले गरिएको बताउँदै आएको छ।











