शिक्षा परीक्षाको नतिजा र प्रमाणपत्रमा मात्र सीमित हुन हुँदैन : राष्ट्रपति पौडेल

बिजमाण्डू
२०८३ असोज १७ गते १७:१५ | Oct 3, 2026
शिक्षा परीक्षाको नतिजा र प्रमाणपत्रमा मात्र सीमित हुन हुँदैन : राष्ट्रपति पौडेल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा परीक्षाको नतिजा र प्रमाणपत्रमा मात्र सीमित हुन नहुने बताएका छन्।

Vigo
GBIME
Tata

शिक्षाले ज्ञानसँगै विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने बताउँदै राष्ट्रपति पौडेलले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक निर्माण गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले शनिबार ललितपुरमा आयोजित सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्। उनले शिक्षालाई व्यक्तिको समग्र विकास र जिम्मेवार नागरिक निर्माणको माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए।

शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम ल्याउनु वा प्रमाणपत्र हासिल गर्नु नभएको उनको भनाइ थियो। शिक्षाले व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्नुपर्ने उनको भनाइ छ।

नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएको राष्ट्रपति पौडेलले बताए। त्यसैले शिक्षाले विविधताको सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्नुपर्ने उनले उल्लेख गरे।

समय परिवर्तनशील भए पनि आधारभूत मानवीय मूल्यलाई थप सुदृढ बनाउनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ। उनले आधुनिक प्रविधिको विकाससँगै शिक्षाको उद्देश्य र प्राथमिकतालाई पनि समयअनुकूल बनाउनुपर्ने बताए।

सूचना प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा भविष्यका लागि आवश्यक जनशक्ति शिक्षाबाटै तयार गर्नुपर्ने उनले बताए। त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले ज्ञान र सीपसँगै नैतिकता तथा अनुशासन भएका नागरिक निर्माण गर्नुपर्ने बताए। सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्वलाई पनि शिक्षाको महत्त्वपूर्ण हिस्सा बनाउनुपर्ने उनले उल्लेख गरे।

शिक्षाले देशभित्र उत्पादन र रोजगारीको वातावरण सिर्जना गर्न सहयोग गर्नुपर्ने राष्ट्रपति पौडेलले बताए। आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा योगदान पुर्‍याउने शिक्षामार्फत नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्नुपर्ने उनको धारणा छ।