अमेरिकी अटोमोटिभ मूल्यांकन संस्था एडमन्ड्सले विभिन्न मिडसाइज दुई-पंक्ते एसयूभीको विस्तृत परीक्षणपछि विशेषज्ञ मूल्यांकनका आधारमा पाँच उत्कृष्ट मोडल सार्वजनिक गरेको छ। अमेरिकी बजारमा चलेका गाडीहरु छनोट गरेर त्यसबाट सूची सार्वजनिक गरेको हो। यी एसयूभीले यात्रु तथा कार्गोका लागि पर्याप्त ठाउँ, उपयोगिता र मूल्यबीच सन्तुलन कायम गर्ने एडमन्ड्सको निष्कर्ष छ।
होन्डा सीआर-भी र टोयोटा आरएभी४ जस्ता साना एसयूभी लोकप्रिय भए पनि थप ठाउँ चाहने ग्राहकका लागि तीन पंक्तिका मिडसाइज एसयूभी महँगा र आकारका हिसाबले ठूला हुन सक्छन्। यस्तो अवस्थामा दुई पंक्तिका मिडसाइज एसयूभी उपयोगी विकल्प बन्न सक्छन्।
एडमन्ड्सको सूचीमा २०२६ मोडल वर्षका सुबारु आउटब्याक, होन्डा पासपोर्ट, माज्दा सीएक्स-७०, टोयोटा क्राउन सिग्निया र जीप ग्रान्ड चेरोकी परेका छन्। तल उल्लेखित मूल्यमा गन्तव्य शुल्कसमेत समावेश छ।
सुबारु आउटब्याक
२०२६ मोडल वर्षका लागि पुनःडिजाइन गरिएको सुबारु आउटब्याक यस सूचीमा पर्ने एकमात्र एसयूभी हो, अमेरिकी बजारमा जसको मूल्य ४० हजार डलरभन्दा कम छ। यसको सुरुवाती मूल्य ३६ हजार ४४५ डलर छ।
नयाँ आउटब्याकलाई पहिलेभन्दा बक्सियर डिजाइन दिइएको छ, जसले यसको उपयोगिता बढाएको छ। यसको स्ट्यान्डर्ड इन्जिन धेरै शक्तिशाली नभए पनि टर्बोचार्ज्ड इन्जिनको विकल्प उपलब्ध छ।
सुबारुले हाइब्रिड संस्करण उपलब्ध नगराए पनि कम खरिद मूल्यका कारण इन्धनमा हुने अतिरिक्त खर्चलाई केही हदसम्म सन्तुलन गर्न सकिने एडमन्ड्सको मूल्यांकन छ। मध्यम कठिनाइका अफरोड अवस्थामा समेत यो एसयूभी सक्षम रहेको र भित्री भाग फराकिलो तथा आरामदायी रहेको जनाइएको छ।
यसमा पछिल्लो प्रविधि र प्रभावकारी सुरक्षा प्रणालीसमेत छन्। इन्स्योरेन्स इन्स्टिच्युट फर हाइवे सेफ्टीले यसलाई ‘टप सेफ्टी पिक प्लस’ रेटिङ दिएको छ।
होन्डा पासपोर्ट
होन्डाले २०२६ का लागि पासपोर्टलाई पुनःडिजाइन गर्दै यसको बाहिरी स्वरूपलाई थप रग्ड बनाएको छ। प्रविधिमा सुधार गरिए पनि यात्रु र सामान राख्ने पर्याप्त ठाउँलाई भने निरन्तरता दिइएको छ।
तीन पंक्तिको होन्डा पाइलटमा आधारित पासपोर्ट अहिलेको बजारमा सबैभन्दा फराकिला मिडसाइज दुई-पंक्ते एसयूभीमध्ये एक हो। यसमा भी६ इन्जिन र अल–ह्विल ड्राइभ स्ट्यान्डर्ड रूपमा उपलब्ध छ।
यसको इन्धन खपत भने तुलनात्मक रूपमा कमजोर छ। तर ५ हजार पाउन्डसम्मको टोइङ क्षमता, आकर्षक डिजाइन र आइआइएचएसको ‘टप सेफ्टी पिक प्लस’ सुरक्षा रेटिङले यसको उपयोगितालाई बलियो बनाएको एडमन्ड्सको मूल्यांकन छ।
२०२६ पासपोर्टको सुरुवाती मूल्य ४६ हजार ४४५ डलर छ।
माज्दा सीएक्स–७०
माज्दा सीएक्स–७०लाई अफरोडभन्दा सडकमा ड्राइभिङको अनुभवलाई प्राथमिकता दिएर तयार गरिएको स्पोर्टी मिडसाइज एसयूभीका रूपमा एडमन्ड्सले मूल्यांकन गरेको छ।
यसमा शक्तिशाली टर्बोचार्ज्ड छ सिलिन्डर इन्जिन स्ट्यान्डर्ड रूपमा उपलब्ध छ। घुमाउरो सडकमा समेत यो स्थिर र सटीक रहेको बताइएको छ।
उच्चस्तरीय क्याबिन डिजाइनका कारण सीएक्स–७० मुख्यधारका एसयूभीभन्दा प्रिमियम श्रेणीको गाडीझैँ देखिने र महसुस हुने एडमन्ड्सको भनाइ छ। यसले पनि आइआइएचएसको ‘टप सेफ्टी पिक प्लस’ रेटिङ पाएको छ।
माज्दाले यसमा प्लग–इन हाइब्रिड पावरट्रेनको विकल्पसमेत दिएको छ, जसले इन्धन खर्च घटाउन सहयोग गर्न सक्छ।
यद्यपि यसको राइड र सिट केही कडा रहेको तथा क्याबिनभित्र सामान राख्ने ठाउँ सीमित रहेको एडमन्ड्सले उल्लेख गरेको छ। इन्फोटेनमेन्ट प्रणालीको प्रयोग पनि केही असहज र ध्यान भंग गराउने खालको रहेको जनाइएको छ।
२०२६ सीएक्स–७० को सुरुवाती मूल्य ४४ हजार ३९५ डलर छ भने हाइब्रिड संस्करणको मूल्य ४६ हजार ९५ डलरबाट सुरु हुन्छ।
टोयोटा क्राउन सिग्निया
इन्धनको बचतलाई प्राथमिकता दिने ग्राहकका लागि टोयोटा क्राउन सिग्निया लक्षित गरिएको छ। यो एसयूभी हाइब्रिड पावरट्रेनमा मात्र उपलब्ध छ र यसको इपीए अनुमानअनुसार सहर तथा राजमार्ग दुवैमा संयुक्त रूपमा प्रतिग्यालन ३८ माइलसम्मको माइलेज दिन्छ।
क्राउन सिग्नियामा परम्परागत रग्ड एसयूभी डिजाइनको सट्टा स्टेसन–वागनबाट प्रभावित परिष्कृत बाहिरी स्वरूप दिइएको छ। यसको भित्री भाग पनि तुलनात्मक रूपमा उच्चस्तरीय छ।
अगाडिका सिट आरामदायी छन्। पछाडिको सिट प्रतिस्पर्धी मोडलको तुलनामा कम फराकिलो भए पनि यात्रुका लागि पर्याप्त रहेको एडमन्ड्सको मूल्यांकन छ।
तर यसको सामान राख्ने ठाउँ सीमित छ। सडक र इन्जिनको आवाज पनि अपेक्षाभन्दा बढी सुनिने समस्या रहेको उल्लेख गरिएको छ।
२०२६ क्राउन सिग्नियाको सुरुवाती मूल्य ४६ हजार २८५ डलर छ।
जीप ग्रान्ड चेरोकी
जीपले ग्रान्ड चेरोकीमा पछिल्लो समय विभिन्न परिवर्तन गरेको छ। नयाँ मोडलमा शक्तिशाली टर्बोचार्ज्ड चार सिलिन्डर इन्जिन स्ट्यान्डर्ड बनाइएको छ भने यसअघि उपलब्ध भी६ र प्लग–इन हाइब्रिड पावरट्रेन हटाइएको छ।
नयाँ इन्जिनसहित ग्रान्ड चेरोकीले ६ हजार २०० पाउन्डसम्म टोइङ क्षमता प्रदान गर्छ, जुन मिडसाइज एसयूभी श्रेणीमै सबैभन्दा बढी रहेको एडमन्ड्सले जनाएको छ।
जीपले यसमा विभिन्न ट्रिमको विकल्प दिएको छ। ग्राहकले सामान्य बेस मोडलदेखि अफरोड केन्द्रित तथा उच्चस्तरीय मोडलसम्म छनोट गर्न सक्छन्। उच्च ट्रिममा तीनवटासम्म ड्यासबोर्ड स्क्रिन र हात नलगाई सञ्चालन गर्न मिल्ने ड्राइभिङ असिस्ट प्रणालीको विकल्पसमेत उपलब्ध छ।
यद्यपि मूल्यको तुलनामा ग्रान्ड चेरोकी अपेक्षाअनुसार आरामदायी नभएको र परीक्षणका क्रममा यसको प्रविधिमा केही समस्या देखिएको एडमन्ड्सले उल्लेख गरेको छ।
२०२६ ग्रान्ड चेरोकीको सुरुवाती मूल्य ४० हजार ९१५ डलर छ।
एडमन्ड्सका अनुसार मिडसाइज दुई-पंक्ते एसयूभीको बजारमा ग्राहकको आवश्यकता र प्राथमिकता अनुसार फरक–फरक विकल्प उपलब्ध छन्। अफरोड क्षमता, इन्धन दक्षता, शक्तिशाली इन्जिन, टोइङ क्षमता, यात्रु तथा सामानका लागि ठाउँ र सुरक्षा जस्ता फरक प्राथमिकताका आधारमा यीमध्ये विभिन्न मोडल उपयुक्त हुन सक्ने एडमन्ड्सको मूल्यांकन छ। (एपी)











