काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीले माग गरेको भन्दा धेरै कानुन निर्माण र संशोधनको काम सरकारले गरिरहेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनका लागि २०२६ सम्बन्धी कानुनी सुधार परामर्श कार्यशाला गोष्ठीमा उनले आफू अर्थमन्त्री भएदेखि नै कानुन सुधारको थालनी गरेको बताए।
‘म अर्थमन्त्री भएकै दिन १५ कानुन खारेज गरें। २७ वटा नयाँ कानुन बनाएका छौं। नेपाल उद्योग परिसंघले २८ र नेपाल उद्योग वाणिज्य महासंघले ४२ कानुन सुधारको सुझाव दिएका छन्। तर हामी १६६ नयाँ बनाउँदै छौं,’ उनले भने, ‘सबैको सुधारका लागि कानुन संशोधन आवश्यक छ। यो सैद्धान्तिक जगमा हामीले काम गरिरहेका छौं। राज्यका प्रत्येक अंगमा सुशासन कायम गर्नुछ।’
उनले १५-२० जना मन्त्री मात्रै सफल भएर नहुने भन्दै जरा गाडेर बसेको बेथितिलाई ‘कोर्ष करेक्सन’ गर्न खोजिरहेको बताए।
‘यो नेपालको पहिलो निजी क्षेत्रमैत्री सरकार हो। हामीले उदारतापूर्वक काम गरिरहेका छौं। हामी अर्को १० वर्षमा ७ प्रतिशतका दरले आर्थिक वृद्धि हुने गरी काम गरिरहेका छौं। छिट्टै रिकभरी प्याकेज पनि आउनेछ। यो सपना होइन, वास्तविक धरातलमा उभिएर गरिएको तयारी हो। यसमा निजी क्षेत्रको पनि साथ रहनेछ,’ उनले भने।
वाग्लेले ५-७ वर्षमै १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिने जिकिर गरे।
‘पुनर्निर्माणका लागि म दौडिरहेको छु। भारतमा भर्खरै भ्रमण सकेँ। आजै अमेरिका जाँदैछु। चीनतिरका नाका बन्द छ। कृष्णभीरको समस्याले सजिलो छैन। तर पनि हामीले गरेका सुधारका बिजारोपणले हामी सहज अवस्थामा छौं। अब लामो समयदेखि साँचेर राखेका सपना पूरा हुने दिन आएका छन्,’ उनले भने।











