काठमाडौं। करिब तीन महिनादेखि बन्द भारतको दुर्गापुर रिफाइनरी संचालनमा आउने भएको छ। रिफाइनरी संचालनमा आएपछि नेपाल आयल निगमलाई एलपी ग्यासको आपूर्ति व्यवस्थापनमा राहत हुने भएको छ।
गत जुन २९ मा दुर्गापुर रिफाइनरीमा आगलागी भएपछि त्यहाँबाट नेपालतर्फ एलपी ग्यासको आपूर्ति रोकिएको थियो। त्यसपछि नेपालमा एलपी ग्यासको आपूर्ति व्यवस्थापनमा दबाब बढ्दै गएको थियो।
रिफाइनरीमा पुनः संचालनको परीक्षण भइरहेको छ। परीक्षण सफल भएपछि नियमित रुपमा एलपी ग्यास लोडिङ तथा आपूर्ति सुरु हुने अपेक्षा गरिएको छ। ‘उनीहरुले अक्टोबर १ देखि अर्थात भोलिदेखि एलपी ग्यास भर्न दिने तयारी गरेका छन्,’ निगम स्रोतले भन्यो।
दुर्गापुर रिफाइनरीबाट नेपालमा मासिक करिब ९ हजारदेखि १० हजार मेट्रिक टन एलपी ग्यास आउने गरेको छ। यो परिमाणले नेपालको करिब एक चौथाइ माग धान्ने गरेको छ। नेपालमा मासिक ४९ हजार मेट्रिक टन एलपी ग्यास आउने गर्छ।
नेपालका लागि दुर्गापुर रिफाइनरीको अर्को महत्त्वपूर्ण पक्ष यसको दूरी हो। दुर्गापुर नेपालसँग करिब ६०० किलोमिटरको दूरीमा रहेको छ। त्यहाँबाट नेपालको सीमासम्म एलपी ग्यास ल्याउन करिब दुई दिन लाग्ने गरेको छ।
त्यसको तुलनामा भारतको पारादीपबाट नेपालसम्म एलपी ग्यास ल्याउन करिब तीन दिन लाग्ने गर्छ। त्यसैले दुर्गापुरबाट आपूर्ति पुनः सुरु हुँदा निगमको आपूर्ति व्यवस्थापन तथा ढुवानी योजनामा पनि सहजता आउनेछ।
दुर्गापुरबाट आपूर्ति रोकिएपछि निगमले अन्य स्रोतमा निर्भर हुनुपर्दा एलपी ग्यासको आपूर्ति शृंखलामा दबाबमा परेको थियो। बजारमा ग्यासको माग बढ्ने समयमा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको थियो। जसले बजारमा हाहाकार नै मच्चाएको थियो।











