काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको एक वर्ष सकिएपछि वित्तीय प्रणालीलाई आगामी दशकसम्म नयाँ हिसाबले पुनर्परिभाषित गर्नका लागि आफूसँग तीन वटा योजना रहेको सुनाएका थिए।
त्यसमध्ये एक थियो- एआइको व्यापक प्रयोग। गभर्नर पौडेलले सुनाएका योजनाका आधारमा बिजमाण्डूले गत जेठ २६ गते समाचार पनि प्रकाशित गरेको थियो।
उनको पहिलो योजना थियो- केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) कार्यान्वयनमा ल्याउने। यसका लागि आन्तरिक रुपमा उनले काम पनि थालेका छन्। दोस्रो, बढ्दो विदेशी मुद्राको सञ्चितिलाई बढी प्रतिफल दिने ठाउँमा दीर्घकालीन लगानी रणनीति। गभर्नर पौडेलले भारतीय सरकारी बैंकहरुमा लगानी गर्नका लागि केही काम गरिरहेका छन्।
तेस्रो हो, बैंकिङ सुपरिवेक्षणमा एआईको प्रयोग। सल्लाहकार, योजनाकारबाट सोझै राष्ट्र बैंक पुगेका उनले एक वर्ष विताएपछि आफ्नो कार्ययोजना अन्तर्गत सुपरिवेक्षणमा एआईको प्रयोगलाई प्राथमिकतामा राखेका हुन्।
अहिले सामान्य सफ्टवेयर प्रयोग गरेर मानव स्रोत साधनकै भरमा सुपरिवेक्षण गरिँदै आइएको छ। पौडेलले यसलाई सुधार गरेर फराकिलो र दिगो बनाउन चाहेको बताएका थिए।

‘एआई प्रयोग गर्न सकियो भने कुन ऋणीले कहिले कहाँ ऋण लिएर केमा प्रयोग गर्यो भन्नेसम्म हेर्न सकिन्छ,’ उनले भनेका थिए, ‘वित्तीय क्षेत्रबाट गएको ऋण अर्थतन्त्रको कुन क्षेत्रमा गएको छ भनेर बुझ्न सकिन्छ। त्यसै आधारमा नीति नियम तर्जुमा गर्न सकिन्छ।’
तर, उनले जसरी एआइको प्रयोग गर्ने कुरा गरे, व्यवहार भने उल्टो देखिएको छ। उनले आफ्ना कर्मचारीहरुलाई एआइको प्रयोग नगर्न निर्देशन जारी गरेका छन्। साथसाथै एआइसँग सम्बन्धित वेवसाइट तथा उपकरणहरु बन्द नै गर्न लगाएका छन्।
अहिले केही देशले एआइको माध्यमबाट सुपरिवेक्षणको काम सुरु गरिसकेका छन्। त्यही देखेर गभर्नर पौडेलले सार्वजनिक मञ्चहरुमा भेट भएका अन्य देशका केन्द्रीय बैंकका गभर्नर र विकास साझेदारसँग यस बारेमा छलफल पनि गरेको बताएका थिए।
उनले बिजमाण्डूसँग भनेका थिए- कागजपत्रमा स्वच्छ देखिने तर भित्रभित्रै पैसा घुमाउने ऋणीहरूको स्वचालित अनुगमन गर्न सकिन्छ, बैंकको स्वास्थ्य परीक्षण रियल टाइममा हुन थाल्छ।
एआइबाट कसरी फाइदा लिन सकिन्छ भन्ने जानकारी भएका गभर्नर पौडेलले राष्ट्र बैंकको सूचना प्रविधि विभागबाट सोमबार निर्देशन जारी गर्दै एआइ प्रयोग नगर्न भनेका छन्।
‘नेपाल राष्ट्र बैंकले हालसम्म संस्थागत रूपमा एआइको प्रयोग सम्बन्धी कुनै ‘इन्टरप्राइज एआइ प्लाटफर्म’ अवलम्बन तथा कार्यान्वयन नगरेतापनि पछिल्लो समयमा बैंकका कर्मचारीहरूले कार्यालयको दैनिक कार्यसम्पादनलाई सहज तथा प्रभावकारी बनाउन विभिन्न सार्वजनिक रूपमा उपलब्ध एआइ उपकरण तथा सेवाहरू प्रयोग गर्ने गरिएको देखिएको छ,’ राष्ट्र बैंकले कर्मचारीलाई जारी गरेको निर्देशनमा भनिएको छ।
निर्देशनमा उल्लेख छ- एआइ उपकरणहरुको प्रयोगले कार्यसम्पादनमा सहयोग पुऱ्याउन सक्ने भए तापनि संस्थागत रूपमा स्वीकृति तथा नियन्त्रण बिना प्रयोग गर्दा केन्द्रीय बैंकको गोपनीयता, सूचना सुरक्षा तथा संवेदनशील तथ्याङ्कहरु अनधिकृतरुपमा सार्वजनिक हुन सक्ने जोखिमहरु भएकाले बैंकले औपचारिक रूपमा प्रयोग गर्ने निर्णय नगरे सम्मको लागि एआइसँग सम्बन्धित वेवसाइट तथा उपकरणहरुको प्रयोग बन्द गरिएको छ।
व्यवस्थापनले गरेको निर्णयप्रति कर्मचारीहरु भने वेखुसी छन्। ‘कर्मचारीले एआइको प्रयोग राम्रोसँग सूचना तथा संबादका लागि प्रयोग गर्ने गरेका छन्’ एक अधिकृतले भने, ‘आफ्नो अनुसन्धान तथा खोजलाई चाँडो र सटिक बनाउन एआइको प्रयोग भइरहेको थियो। यसका लागि प्रयोग हुने एआइले राष्ट्र बैंकको कुन गोपनियता भङ्ग भयो बुझ्नै सकिएन।’
राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुलाई एआइमाथि प्रतिबन्ध लगाउँदै गर्दा उसले नियमन गर्ने अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले यसको प्रयोगलाई ब्यापक बनाइसकेका छन्। राष्ट्र बैंक भने उल्टो बाटोमा हिँडेको त्यहाँका कर्मचारीहरु बताउँछन्।










