काठमाडौं । नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनेबारे न्यूयोर्कमा छलफल भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीबीच भएको भेटवार्तामा दुई देशबीचको सहकार्यलाई प्रभावकारी बनाउनेबारे छलफल भएको हो।
न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको जनाइएको छ।
भेटमा दुवै पक्षले दुई देशबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।
संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएका थिए।
न्यूयोक पुगेका खनालले यसअघि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र युरोपियन युनियनकी उपाध्यक्षसँग पनि भेट गरेका थिए।











