प्रतिनिधिसभामा वाग्लेले नागरिक लगानी कोष विधेयक पेस गर्दै, चारवटा समितिको बैठक पनि बस्दै

बिजमाण्डू
२०८३ असोज ६ गते ०६:५४ | Sep 22, 2026
प्रतिनिधिसभामा वाग्लेले नागरिक लगानी कोष विधेयक पेस गर्दै, चारवटा समितिको बैठक पनि बस्दै


काठमाडौं । आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Vigo
GBIME
Tata

यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

बिहान १० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ।

स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ। सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदैछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदैछ।