घरजग्गा मेलाको पहिलो दिन २५ घर बिक्री, १५ हजार भिजिटर, सभामुख र व्यवसायीबिच घोचपेच

नेत्र तामाङ
२०८३ असोज १ गते २१:३६ | Sep 17, 2026
घरजग्गा मेलाको पहिलो दिन २५ घर बिक्री, १५ हजार भिजिटर, सभामुख र व्यवसायीबिच घोचपेच


काठमाडौं। बिहीबार बिहान ११ बजे सभामुख डोलप्रसाद अर्याल भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा पुगेर घरजग्गा मेलाको रिबन काटे। प्रदर्शनीस्थल एक फन्को घुमेर औपचारिक कार्यक्रममा पुगेपछि घरजग्गा व्यवसायीले पछिल्लो संकटबारे गुनासो सुनाए।

Vigo
GBIME
Tata

हदबन्दीले पछिल्लो समय घरजग्गा व्यवसायी संकटमा फसेका छन्। २ अर्बभन्दा बढी रकम राज्यको नीतिका कारण फसेको नेपाल जग्गा तथा आवास संघका अध्यक्ष दिपक कुवँरले सुनाए।

उनले सभामुखतर्फ इंगित गर्दे भने, ‘सभामुखज्यूलाई के भन्न चाहन्छु भने हाम्रा पीर मर्काहरू सुन्दिनुस्। २ खर्बको आदि एक खर्ब त बैंकको ऋण छ। हामीले बेचिसकेका घर जग्गाहरूको ब्याज तिरेर हाम्रा साथी ८ वर्षदेखि बस्नुपरेको छ। अहिले घरजग्गा व्यवसाय थिलथिलो अवस्थामा छ।’

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे हदबन्दीका कारण जग्गा किनबेच नै ठप्प भएको बताउँदै थिए। पछिल्लोपटक ग्यास व्यवसायीलाई ग्यास लुकाएको आरोपमा पक्राउ परेको घटना सुनाउँदै घिमिरले आफूहरुलाई पनि जग्गा लुकाएको वा नबेचेको आरोप लगाएर पक्रन आग्रह गरे।

‘कपडा व्यवसायीलाई हदबन्दी छैन, ग्यास व्यवसायीलाई हदबन्दी छैन तर घरजग्गा व्यवसायीलाई चाहिँ किन हदबन्दी? अस्ति भर्खरै नयाँ उद्योग मन्त्री आएर ग्यास व्यवसायीहरूलाई चाहिँ कारबाही गर्नुभयो, ग्यास लुकायो भनेर। हामी रियल इस्टेट व्यवसायी, घरजग्गा व्यवसायी त्यो कारबाही भोग्न तयार छौं। हामीलाई कारबाही गर्नुपर्‍यो। किन जग्गा किनेर जग्गा आवास योजना परियोजना बनाएर किन बेच्नुहुन्न? घर बनाएर किन बेच्नुहुन्न? हाउजिङ बनाएर किन बेच्नुहुन्न भनेर हामीलाई कारबाही गर्नुपर्‍यो। हामी कारबाही भोग्न तयार छौं,’ अध्यक्ष घिमिरेले भने।

सभामुख अर्यालले भने हदबन्दीको समस्या चाँडै नेपालमा रियल स्टेटको प्रबल सम्भावना भएको बताए। ‘विदेशीहरूसँग कहिलेकाहीँ प्लेनमा काठमाडौं आउँदै गर्दाखेरि सँगै हुँदा विदेशीहरूले नेपालको खाली भूभाग देखेर उत्साहजनक तरिकाबाट कुरा गर्नुहुन्छ। व्यापार गर्न त नेपाल पो आउनुपर्ने रहेछ। बिजनेस गर्ने सम्भावना त यो देशमा पो रहेछ,’ सभामुख अर्यालले भने, ‘त्यसकारणले संसारका क्यापिटल सिटीहरू यस्तो धेरै व्यस्त भइसके कि त्यहाँ अब पुराना निर्माणलाई भत्काएर नयाँ बनाउने मात्रै ठाउँ बाँकी छ। कैयौं सहरहरूमा तर हामीसँग अझै पनि थुप्रै ठाउँ छ जहाँ हामी निर्माण गर्न सक्छौं र राज्यलाई बलियो बनाउन सक्छौं। क्यापिटल सिटी मात्रै होइन, नेपाल विशेषतः ग्रामीण क्षेत्र सहरीकरण भइरहेको अवस्था छ।‘

व्‍यवसायका समस्या समाधान हुने उल्लेख गर्दै उनले सरकारलाई इन्फ्लुयन्स नगर्न चेतावनी दिए। ‘तपाईँहरूले नचिनेको राजनीतिज्ञ पनि यो देशमा छ जस्तो मलाई लाग्दैन। तपाईँहरूले चाहनुभयो भने इन्फ्लुएन्स गर्न विगतमा सरकारलाई त आरामले गर्नु पनि भएको हो। त्यसकारणले त्यसमा म पनि परे होला। थोरै थोरै त्यसको भागीदारी म पनि होला। तपाईँहरूमाथि मैले त्यो आरोप लगाउन खोजेको होइन। तपाईँ हामी यो देशको नागरिक भएको हुनाले हाम्रो अधिकार पनि हो, हाम्रो हक पनि हो। हामीलाई थाहा हुनुपर्छ यो देशको राजनीति थाहा हुनुपर्छ, राज्य प्रणाली थाहा हुनुपर्छ, कानुन थाहा हुनुपर्छ। त्यसकारणले आगामी दिनमा हामीले गर्ने व्यवहारले चाहिँ सीमित व्यक्ति मात्रै मोटाउने किसिमको हाम्रा उद्योग, व्यापार, व्यवसायी त्यो हुनुहुँदैन। हामीले दूरदराजमा बसेका नेपाली नागरिक पनि यो देशमा छन् भनेर हामीले त्यसलाई भुल्नु हुँदैन।‘

२५ घर बिक्री, १५ हजारले घुमे पहिलो दिन

घरजग्गा मेलामा पहिलो दिन २५ घर बिक्री भएको छ। जसमा सबैभन्दा धेरै ग्रान्डी कोलोनीको १५ घर बिक्री भएको आयोजकले जनायो। काठमाडौंको टोखामा बन्ने ती घरको मूल्य १ करोड ४० लाख राखिएको छ।

त्यसैगरी ललितपुरको धापाखेलमा रहेको डाउनटाउन र काठमाडौंको महाराजगञ्जमा रहेको कर्मा अपार्टमेन्ट पनि बुक भएको छ।

पहिलो दिन १५ हजार भिजिटर आइपुगेको जग्गा तथा आवास विकास महासंघका अध्यक्ष घिमिरेले बताए। ‘पहिलो दिन उत्साहजनक उपस्थिति छ। १५ हजार भिजिटर आइपुगे। जग्गा तथा घरको बिक्री पनि उत्साहजनक छ,’ अध्यक्ष घिमिरेले भने।

वास्तुविज्ञको सुझाव उत्तरपूर्वमा ट्वाइलेट नबनाउनु

मेलामा वास्तुशास्त्र तथा डाउजिङ विज्ञ डा. माधव मंगल जोशीले घरको उत्तर–पूर्व अर्थात् ईशान कोणमा शौचालय निर्माण गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र क्यान्सरसम्मको जोखिम देखिन सक्ने बताए। एक्स्पोमा आयोजित ‘वास्तु र हाम्रो जीवनशैली’ विषयक सेसनमा जोशीले घर निर्माणमा दिशाअनुसार संरचना नमिलाउँदा त्यसको असर मानिसको जीवनशैली, स्वास्थ्य र समग्र पारिवारिक वातावरणमा पर्न सक्ने बताएका हुन्।

जोशीले घर निर्माण गर्दा विशेषगरी उत्तर–पूर्व अर्थात् ईशान कोणलाई सफा, हलुका र खुला राख्नुपर्ने बताए । वास्तुशास्त्रीय मान्यताअनुसार उत्तर र पूर्वबाट आउने सकारात्मक ऊर्जा तथा भू-चुम्बकीय ऊर्जाको प्रभाव रहने क्षेत्र भएकाले ईशान कोणमा अनावश्यक संरचना, फोहोर तथा भारी सामग्री राख्न नहुने उनको भनाइ थियो। ‘उत्तर पूर्वलाई सकेसम्म शुद्ध, सफा र खुला राख्नुपर्छ,’ उनले भने, ‘यो भागमा ट्वाइलेट वा फोहोर राख्दा त्यसको असर घरमा बस्ने मानिसको स्वास्थ्यमा पर्न सक्छ।’

शौचालय निर्माणका विषयमा उनले अझ गम्भीर दाबी प्रस्तुत गरे। उत्तर–पूर्व दिशातर्फ शौचालय बनाउँदा वा शौचालयको संरचना त्यस दिशामा पर्दा क्यान्सरसम्मको जोखिम देखिन सक्ने उनले बताए।

वास्तुशास्त्रीय मान्यताअनुसार घरमा भान्सा निर्माणका लागि दक्षिण–पूर्व अर्थात् आग्नेय कोणलाई पहिलो प्राथमिकता दिनुपर्ने जोशीले बताए। त्यो सम्भव नभए उत्तर–पश्चिम अर्थात् वायव्य क्षेत्रमा भान्सा बनाउन सकिने उनको सुझाव थियो।

त्यस्तै, इनार तथा बोरिङका लागि उत्तर वा पूर्व दिशा उपयुक्त मानिने उनले बताए। दक्षिण–पश्चिममा पानीको स्रोत राख्दा आर्थिक तथा पारिवारिक अस्थिरता आउने वास्तु मान्यता रहेको उनले उल्लेख गरे।

घर निर्माण गर्दा जग्गाको आकारलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनको भनाइ थियो। सकेसम्म मिलेको आकारको जग्गा छनोट गर्नुपर्ने र जग्गाको बनोट तथा त्यसमा निर्माण हुने भवनबीच तालमेल हुनुपर्ने उनले बताए।

स्टलमा स्टिल स्ट्रक्चरदेखि रङसम्म

प्रदर्शनीमा १०० भन्दा बढी स्टल छन्। घर खरिदबिक्रीसँगै घरका लागि चाहिने निर्माण र सज्जाका सामाग्रीको प्रदर्शनीसँगै परामर्श लिन पाइने व्यवस्था मेलामा रहेको आयोजकले जनाएका छन्।

प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार प्रदर्शनीमा हाउजिङ तथा अपार्टमेन्ट व्यवसायी, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायतका कम्पनी तथा व्यवसायी सहभागी छन्।

प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र सीमित नगरी सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी तथा परामर्शको थलोका रूपमा विकास गर्न खोजिएको छ। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिने कार्यक्रम पनि रहेको छ।