दसैं नजिकिँदै गर्दा नयाँ नोटको झझल्को पनि साथै आउँछ। हुन पनि टीका थालीमा जमरा, अक्षतासँगै नयाँ नोटहरू फरर गरेर सजाउँदाको रौनक नै अर्कै हुन्छ। तथापि, २०८० को दसैंपश्चात् नेपाल राष्ट्र बैंकले यो ठूलो चाडका बेला सर्वसाधारणलाई खुद्रा नयाँ नोट सटही गरिदिने ऐतिहासिक परम्परालाई विश्राम दिएको छ। अब यो विश्राम महाविश्राम नै हुने हो कि भन्ने अवस्था देखिँदैछ।
विगत सम्झनाकालदेखि नै नेपाल राष्ट्र बैंकले दसैंको छेको पारी सर्वसाधारण सबैका लागि खुद्रा नयाँ नोट सटही गरिदिने विशेष व्यवस्था गर्दै आएको थियो। सहरका ठूलाबडाकहाँ मात्र होइन, गाउँघर फर्किंदा एक-दुई प्याकेट भए पनि नयाँ नोट लगिदिने र गाउँकाले पनि सहरबाट आउनेले पक्कै नयाँ नोट ल्याएका होलान् भन्ने विश्वासिलो परम्परा जमेको थियो।
समग्रमा भन्नुपर्दा, दसैंका बखत टीका, जमरा, पिङ, मौला, बोका/खसीको मासुजस्तै नयाँ खुद्रा नोट पनि संस्कृतिको अभिन्न अंग बनिसकेको थियो र अद्यापि छ पनि।
यसैगरी सर्वसाधारणकै प्रयोजनार्थ दसैंको करिब एक महिनाअघिदेखि नै नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई क्रमशः पालो मिलाई उपलब्ध भएसम्मका नयाँ खुद्रा नोटहरू भारी मात्रामा पठाइने गरिन्थ्यो। मुख्य मेलो त घटस्थापनाको भोलिपल्टदेखि फूलपाती बिदाका बीच नेपाल राष्ट्र बैंक परिसरमा देखिन्थ्यो।
व्यवहारमा हेर्दा पनि, के कसो कारणले हो, टीका दक्षिणा दिँदा खुल्ला भन्दा खामबन्द दिने चलन बढ्दै गएको छ, जुन अत्यन्त सकारात्मक छ।

नयाँ खुद्रा नोट सटहीका लागि सर्वसाधारणको लामो लाइन र विशेष काउन्टरहरू, त्यस्तै अलग-अलग काउन्टरमा नेपाली सेना, प्रहरी, निजामती सेवाका कार्यालय प्रतिनिधिहरूको उल्लेख्य चहलपहलले माहोल नै गरमाएको हुन्थ्यो। यो माहोल नेपाल राष्ट्र बैंकको काठमाडौंस्थित कार्यालयमा मात्र नभई उपत्यकाबाहिरका कार्यालयहरू र विभिन्न जिल्लाहरूमा नोटकोष रहेका वाणिज्य बैंकका शाखा कार्यालयहरूमा पनि देखिन्थ्यो। अर्थात्, दसैंका बखत नयाँ खुद्रा नोटका लागि देशव्यापी तरंग आउँथ्यो, जुन अब हाललाई दबेको अवस्था छ।
यसरी विगत इतिहासदेखि निरन्तर चल्दै आएको परम्परा तोडिनुमा केही स्वाभाविक पृष्ठभूमि देखिन्छन्। विशेषतः चाडपर्वका बखत सटही गरिने नोटहरू सोही चाडपर्वपश्चात् बैंकिङ प्रणालीमा फर्किआउँदा कतिपय नोटहरूमा अबिरको रङ लागेको हुने र फलस्वरूप ती नोटहरूलाई नष्ट गर्नुपर्दा राज्यको व्ययभार बढ्न जाने हुन्छ। नयाँ नोट सटही गर्न पाइने भनेपछि तत्काल आवश्यकता नभए पनि साटिहालौँ वा जति पाइन्छ, त्यति सबै लिइहालौँ भन्ने पनि हुन्छ। यी सबैले अन्ततः राज्यको व्ययभार बढाउने नै हुन्छ।
यसमा मननयोग्य पक्ष यो छ कि सर्वसाधारणले नयाँ नोट भएर मात्र अबिर रङ लगाएका होइनन्। रङ लगाउने बानी परेकाहरूले त नयाँ नोट भए पनि पुरानो नोट भए पनि यसो रङ लगाइदिइहाल्छन्। अर्कोतर्फ यस विषयमा थोरै मात्र सचेत हुनेले नयाँ होस् वा पुरानो, नोटमा रङ पर्नै दिँदैनन्।
आजकाल आएर नेपाल राष्ट्र बैंकलगायत सबैको सार्थक प्रयासस्वरूप सर्वसाधारण सबैमा नोटलाई रङ लगाउने वा अन्य कुनै तवरले विकृत गर्नुहुन्न भन्ने ज्ञान स्थापित भइसकेको छ। झन् खुसीको कुरा त के भने यसरी नोटको जतन गर्नुपर्छ भन्नेमा नयाँ पुस्ता एकदम बुलन्द र सचेत देखिन्छ। अर्कोतर्फ व्यवहारमा हेर्दा पनि, के कसो कारणले हो, टीका दक्षिणा दिँदा खुल्ला भन्दा खामबन्द दिने चलन बढ्दै गएको छ, जुन अत्यन्त सकारात्मक छ।
प्रविधिको विकाससँगै आजकाल बोलीचालीमा सुनिने गरिन्छ कि अब पूजाआजामा दिने/लिने, चढाइने दक्षिणा पनि अभौतिक अर्थात् डिजिटल नै हुनुपर्दछ। यो सर्वथा असम्भव र अव्यावहारिक तर्क हो। जस्तो कि, पूजा गर्दा दियो, कलश, गणेशको स्थानमा भेटी चढाउन पर्दा डिजिटल रूपमा कसरी चढाउने? गौदान गर्दा के समातेर दान गर्ने? अनि टीका लगाइदिँदा फूल, प्रसादपश्चात् ‘बाबु/नानु, दक्षिणा पैसा मोबाइलमा हालिदिएको छु’ भन्दा हरक्क हुने कि थचक्क बस्ने? नगद पैसा पाइँदाको मुहारको त्यो चमकलाई के कुनै मूल्यमा किन्न सकिन्छ र? त्यसैले सधैं सबै कुरामा डिजिटल, डिजिटल मात्र भनेर पनि हुँदैन।
आवश्यक परी बैंकमा गएर एक प्याकेट नोट सटही गरी ल्याउँदा करिब १० वटा जति च्यातिएका, ५ वटा जति टेप लगाएका, अन्य १० वटा जति मैला झुत्रा नोट पाइनु सामान्य भइसकेको छ, जुन कदापि क्षम्य विषय होइन।

विषयको चुरो कुरो यही हो कि चाडबाडका बखत सर्लक्क, सफा र चिटिक्क परेका खुद्रा नोटहरूको सहज उपलब्धता हुनुपर्यो। राष्ट्र बैंकले नयाँ खुद्रा नोटहरू दसैं, तिहार मात्र नभनी आवश्यकताअनुसार र निरन्तर रूपमा बजारमा पठाइरहेकै हुन्छ, तर बजारमा भने झुत्रा नोटहरूकै बाहुल्यता छ।
आवश्यक परी बैंकमा गएर एक प्याकेट नोट सटही गरी ल्याउँदा करिब १० वटा जति च्यातिएका, ५ वटा जति टेप लगाएका, अन्य १० वटा जति मैला झुत्रा नोट पाइनु सामान्य भइसकेको छ, जुन कदापि क्षम्य विषय होइन। स्पष्ट छ, बैंक तथा वित्तीय संस्थाहरूले सुकिला र मैला/झुत्रा नोटहरूलाई छुट्ट्याई जसरी काम गर्नुपर्ने हो, सो गरेका छैनन् अर्थात्, निक्षेपस्वरूप बजारबाट जे-जस्तो रूपमा नोटहरू प्राप्त भएका छन्, तिनैलाई ट्याग मात्र फेरेर पुनः बजारमा पठाइरहेका छन्।
मुहान नै सफा होस् र मुहान सफा भएपछि प्रणाली स्वतः सफा हुन्छ भनेर नेपाल राष्ट्र बैंकले ल्याएको सफा नोट नीतिको कार्यान्वयनमा कहीँ न कहीँ भुलचुक भइरहेछ। सरोकारवाला सबैले आ-आफ्नो भूमिकालाई आत्मसात् गर्न सके मात्र पनि यस विषयको सहज बैठान हुने थियो।











