बाढीले रसुवागढी अवरुद्ध भएपछि तातोपानी र हिल्सा नाकाबाट यात्रुको आवागमन

बिजमाण्डू
२०८३ भदौ २९ गते २२:३५ | Sep 14, 2026
बाढीले रसुवागढी अवरुद्ध भएपछि तातोपानी र हिल्सा नाकाबाट यात्रुको आवागमन
तातोपानी नाका/ फाइल फोटो


काठमाडौं। रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन सुरु भएको छ। रसुवागढीको विकल्पमा सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग भएको अध्यागमन विभागले जनाएको छ।

Vigo
GBIME
Tata

तिब्बतको कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरेको पाइएको विभागका प्रवक्ता टीकाराम ढकालले जनाए। चीन प्रस्थान गर्ने यात्रुहरूले समेत वैकल्पिक नाकाको प्रयोग गर्ने गरेका छन्।

रसुवागढी नाका अवरुद्ध भएपछि भदौ २९ गतेसम्म तातोपानी नाका हुँदै तीन हजार ९०४ यात्रु नेपाल प्रवेश गरेको विभागले जनाएको छ। सो अवधिमा ३९१ जना तातोपानी नाका हुँदै चीन प्रस्थान गरेका छन्।

सोही अवधिमा हिल्सा नाका भएर ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन्। जसमध्ये १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको विभागले जनाएको छ। भदौ २९ सम्म हिल्सा नाका हुँदै १७८ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्।

वैकल्पिक नाकाबाट आगमन र प्रस्थान गर्ने विदेशी यात्रुहरूमा भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेको विभागले जनाएको छ।