काठमाडौं। फ्लाइ दुबईले असोज ७ देखि पोखरामा नियमित उडान गर्ने भएको छ। फ्लाइ दुबईको जहाज असोज ७ गते साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका सार्वजनिक भएको छ।
जहाज त्यही दिन साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि उड्नेछ। विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले फ्लाइ दुबईले एयर बस ३१९/३२० जहाजमा पोखरा-दुबई उडान गर्ने जानकारी गराएको बताए।
एयर बस ३१९ जहाज १४० देखि १५० र एयर बस ३२० जहाज १६० देखि १८० सम्म यात्रु क्षमताको हो।
‘फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउँछ,’ रावतले भने, ‘पहिलो उडानमा पोखरा आउने यात्रुको संख्या उल्लेख्य हुनेछ। जहाज पोखराबाट दुबई यात्रुसहित कार्गो लिएर जानेछ।’
दुबई-पोखरा-दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई गत जेठ २५ गते अनुमति दिएको थियो।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकट मूल्य ५ हजारसम्म सस्तो रहेको बताए। फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मका टिकट बुकिङ खुलाएको छ।
तीन वर्षअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म नियमित व्यावसाियक उडानले निरन्तरता पाउन सकेको छैन।
यसअघि सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पोखरा-ल्हासा नियमित व्यावसायिक उडान सुरू गरेकामा यात्रु संख्या न्यून भएको भन्दै कम्पनीले उडान स्थगन गरेको छ।











