काठमाडौं। हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रको सुरक्षार्थ दुई हजार ५०० प्रहरी परिचालन हुने भएका छन्। दुई सिफ्टमा गरी उक्त जनशक्ति परिचालन गर्न लागिएको हो।
प्रत्येक सिफ्टमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा एक हजार २५० जना प्रहरी जनशक्ति परिचालन हुने व्यवस्था मिलाइएको हो। प्रहरीले तीजलाई लक्षित गरी पाशुपत क्षेत्रमा कमान्ड पोस्ट स्थापना समेत गरेको छ।
समग्र सुरक्षा परिचालन तथा व्यवस्थापनको कमान्ड जिल्ला प्रहरी परिसर, काठमाडौंका अपरेसन कमान्डर प्रहरी नायब उपरीक्षकले गर्ने व्यवस्था गरिएको छ। सुरक्षा परिचालनको अनुगमन तथा आवश्यक निर्देशन प्रहरी उपरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकबाट हुनेछ।
दर्शनार्थी एवं भक्तजनहरूको सहज तथा सुरक्षित आवागमन, भीड व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, चोरी तथा पाकेटमारी नियन्त्रण, ट्राफिक व्यवस्थापन, आकस्मिक उद्धार तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखी आवश्यक प्रहरी जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको छ।
सम्भावित चोरी, पाकेटमारी तथा अन्य आपराधिक गतिविधिको नियन्त्रण एवं निगरानीका लागि सादा पोसाकका प्रहरीसमेत परिचालित हुनेछन्।
दर्शन गर्न आउँदा आफ्नो साथमा रहेका सामानको सुरक्षा तथा सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।











