एमसीसी परियोजना अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन शिलान्यासको ९ महिनामै तयार

बिजमाण्डू
२०८३ भदौ २८ गते १२:१२ | Sep 13, 2026
एमसीसी परियोजना अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन शिलान्यासको ९ महिनामै तयार


काठमाडौं। एमसीसी परियोजना अन्तर्गतको १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामै तयार भएको छ।

Vigo
GBIME
Tata

नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१३ मा न्यू बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्मको प्रसारण लाइन आइतबार निर्माण सम्पन्न भएको हो। यो प्रसारण लाइन निर्माणसँगै दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ।

तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले २०८२ मंसिर १० गते यो प्रसारण लाइनको शिलान्यास गरेका थिए।

अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइनको निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए।

नेपाल विद्युत् प्राधिकरणका कार्यबाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि प्रसारण लाइन निर्माण हुनु नेपाल र भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए।

यो प्रसारण लाइनलाई सञ्चालनमा ल्याउन अब प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।

एमसीसीकी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले एकजुट भएर काम गर्दा साझा लक्ष्य प्राप्ति गर्न सकिने पुष्टि भएको बताइन्।

‘नेपालको अहिलेको आवश्यकतालाई दृष्टिगत गरी यो लाइन निर्माणलाई हामीले तीव्रता दियौं,’ एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने।

एमसीए-नेपालले प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।