काठमाडौं। असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको घरजग्गा मेलामा बाढीग्रस्त क्षेत्रका बासिन्दालाई लक्षित गरी स्टल राखिने भएको छ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राका अनुसार बाढीग्रस्त क्षेत्रमा कस्तो खालको घर बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा मेलामका परामर्शसमेत दिइनेछ।
भोटेकोशी-त्रिशुली नदीको बाढीले ७ हजार भन्दा धेरै घर क्षतिग्रस्त भएको अवस्थामा बाढी प्रभावितलाई लक्षित गरेर मेलामा स्टल राख्न लागिएको मल्होत्राले बताए। ‘जहाँ बाढी गयो र अब त्यहाँ कस्तो खालको घर बनाउँदा उचित हुन्छ? कुन ठाउँमा बनाउँदा उचित हुन्छ? कस्ता खालका घर बनाउनुपर्ने हुन्छ? खोलाको डिस्टेन्स हेरेर घर बनाउने विषयमा हामीले क्लास पनि राखेका छौं,’ मल्होत्राले भने।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा हुन लागेको ‘सिजी प्रोपर्टिज नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’मा बाढीग्रस्त क्षेत्रका लागि प्रिफ्याबका घरको बारेमा पनि जानकारी दिइदेछ।
‘प्रिफ्याबका एक तले घर १२ देखि १३ लाखसम्म पर्छ। यो घरको डेमो हुन्छ,’ मेलाका संयोजक रोशन भोयद्योले भने। भोयद्योका अनुसार सबैभन्दा सस्तो घर सिमेन्ट र माटोको ५ देखि ६ लाखको हुनेछ।
बाढीपीडितलाई घरको प्याकेज ल्याउन माग
घरजग्गा व्यवसायीले बाढी प्रभावितका लागि घर बनाउने प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।
‘बाढीमा धेरैको घर बगाएको छ। घर छैन। त्यहाँ घर निर्माण गर्नु पर्नेछ। त्यसैले बाढी प्रभावितका लागि घर निर्माण गर्न प्याकेजको व्यवस्था भए धेरै सहुलियत हुनेछ,’ मल्होत्राले भने, ‘भन्सार सुविधादेखि लिएर बैंकिङ फ्यासिलिटी, बीमा लगायतको राहत प्याकेज सरकारले अनाउन्स गरेको छ। यस्तो खालको राहत प्याकेज अनाउन्समेन्ट भएको थिएन यो भन्दा अघिको विपद्मा।‘
प्रदर्शनीमा १ करोड ४० लाख पर्ने घर पनि राखिने छ। ‘हामी करिब करिब एक करोड चालीस पचास लाखदेखिका घर निर्माण हामी गर्छौ र त्यो कुरा पनि हामी प्रदर्शनीमा राख्नेछौं। कम आम्दानी हुनेलाई सस्तो घर चाहिन्छ। त्यसको व्यवस्था पनि छ। मिडियम क्लासको घर पनि छ भने केही महँगा घर पनि हुनेछ। अपार्टमेन्ट पनि हुनेछ,‘ मल्होत्राले भने।











