काठमाडौं। अन्नपूर्ण स्पाइकरले खप्तड फाल्कनलाई हराएको छ। नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा अन्नपूर्णले खप्तडलाई सोझो सेटमा हराएको हो।
केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ को सोझो सेटमा पराजित गर्यो। अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।

पहिलो खेलमा कर्णाली शिवराजसंग ३–१ ले पराजित अन्नपूर्णले लगातार जित हासिल गर्दै आएको छ। अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० तथा मधेश वारियर्सलाई ३–१ ले हराएको थियो। खप्तडको भने ४ खेलमा यो लगातार हार हो। हारसँगै एक खेल खेल्न बाँकी छँदै खप्तड प्रतियोगिताबाट बाहिरिएको छ। खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोश्रोमा कर्णाली र तेश्रोमा मधेशसंग समान ३–० को सोझो सेटमा चुकेको थियो।
जितसँगै अन्नपूर्ण ४ खेलबाट ९ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ।
आजको दोश्रो खेलमा कर्णाली र काठमाडौं प्रतिस्पर्धामा छन्। कर्णालीले जित निकाल्न सके आजै फेरि अन्नपूर्णलाई पछि पार्नेछ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ। प्रतियोगिताको फाइनल भदौ २७ गते हुनेछ।










