साल्ट ट्रेडिङ र खाद्य कम्पनीले घटाए चिनीको बिक्री परिमाण, उपभोक्ताले कति किन्न पाउँछन्?

बिजमाण्डू
२०८३ भदौ २४ गते १९:१९ | Sep 9, 2026
साल्ट ट्रेडिङ र खाद्य कम्पनीले घटाए चिनीको बिक्री परिमाण, उपभोक्ताले कति किन्न पाउँछन्?


काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई बिक्री गर्ने चिनीको परिमाण घटाएका छन्।

Vigo
GBIME
Tata

पृथ्वी राजमार्ग बन्द भएर ढुवानीमा समस्या भएपछि दुईवटै सरकारी कम्पनीले उपभोक्तालाई बिक्री गर्ने चिनीको परिमाण घटाएका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद प्रबन्धक अनन्तराज पौडेलले भारतबाट आयात गरेको १०० क्विन्टल चिनी पृथ्वी राजमार्ग बन्द भएका कारण उपत्यकामा भित्र्याउन समस्या भएकाले उपभोक्तालाई बेच्ने परिमाण घटाएको बताए।

कम्पनीले यसअघि एक जना उपभोक्तालाई ६ केजीसम्म चिनी बेच्ने गरेकामा अहिले २ केजी भन्दा दिएको छैन।

‘भारतबाट आयात गरेको चिनी राजमार्ग बन्द रहेका कारण उपत्यकामा ल्याउन समस्या भइरहेको छ। स्टक एकदमै कम छ। जसले गर्दा डिलरहरुलाई दिन सकिएको छैन,’ पौडेलले भने, ‘त्यही कारण उपभोक्तालाई बिक्री गर्ने परिमाण पनि घटाएका हौं।’

कम्पनीले चिनी प्रति केजी १०९ रुपैयाँमा बिक्री गर्दै आएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि यसअघि उपभोक्तालाई ६ केजीसम्म चिनी बेच्दै आएकामा अहिले ४ किलोभन्दा दिएको छैन। कम्पनीले देशभित्रका उद्योगसँग किनेर चिनी बेच्दै आएको छ।

‘अहिले बजारमा अभाव त छैन। तर, राजमार्ग बन्द भएर ढुवानी महँगो हुदा भाउ बढेको छ। भाउ प्रति केजी १०५ रुपैयाँ पुगेको छ,’ कम्पनीका एक कर्मचारीले भने, ‘हामीले अहिले किराना पसल र डिलरहरुलाई बेच्ने परिमाण पनि घटाएका छौं।’

साल्ट ट्रेडिङले अहिले दैनिक १५०० देखि २००० केजी चिनी बिक्री गरिरहेको छ। साल्ट ट्रेडिङका ती कर्मचारीले स्वदेशी उद्योगले नै बिक्री कम गरेका कारण पनि बजारमा असर परेको बताए।