काठमाडौं । राष्ट्रियसभाकी सांसद रेणु चन्दले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र गृहमन्त्री सुदन गुरुङले राष्ट्रियसभालाई दोष लगाएर अपमान गरेको बताएकी छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा चन्दले सरकारको असक्षमता ढाकछोप गर्न गौतम र गुरुङले झुटो बोलेको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएकी हुन्।
‘ग्यास दिन तपाईंलाई राष्ट्रियसभाले रोक्यो? जेनजीसँगको सम्झौता कार्यान्वयन गर्ने कानुन ल्याउनुस् न हामी तुरुन्त पास गरिदिन्छौं। आफ्नो असक्षमता ढाकछोप गर्न हामी राष्ट्रियसभालाई दोष लगाउने। झुट बोल्ने?,’ चन्दले भनिन्, ‘मैले हिजो ओलीजीको सरकारलाई पनि भनेको हो। आज कानुन मन्त्री र सरकारलाई पनि भन्छु सक्नु हुन्न छोड्दिनुस्। कुर्सीको त्यति माया गर्नु पर्दैन। हामीलाई आरोप किन लगाउँने? हामीले कुन कानुन रोक्यौ? राष्ट्रियसभाले कानुन बनाउन दिएन भन्ने छुट तपाईंलाई छैन।’
उनले राष्ट्रियसभामा बोलाएर गौतमलाई कुन कानुन रोकेको भनेर सोध्नुपर्ने माग गरेकी छन्।
मंगलबार जेनजी शहीद स्मृती सभामा गौतमले राष्ट्रियसभाका कारण कानुन बन्न नसकेको बताएकी थिइन्।
‘दुई वटा सभा छन्। दुई वटा सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणित गरिसकेपछि बल्ल कानुन बन्छ। प्रतिनिधिसभामा करिब दुई तिहाइ छ। एउटा कानुन पास गर्न पुग्ने संख्या छ। प्रतिनिधिसभामा निर्वाचनबाट निर्वाचित तपाईंहरूले छानेका मानिसहरू हुनुहुन्छ। अब अरू ठाउँमा को हुनुहुन्छ? कसले सहयोग गर्नुभएको छ? कसले सहयोग गर्नुभएको छैन? यो तपाईंहरूले मूल्यांकन गरिरहनुभएको होला,’ गौतमले भनेकी थिइन्।
गुरुङले पनि ‘धेरै जनाले शब्द नमिल्ला भनेर भन्ला। धन्नले यो राष्ट्रिय सभा चाहिँ होइन रहेछ’ भन्दै भाषण सुरु गरेका थिए।










