ज्वालामुखी विस्फोटपछि जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थलमा २०० बढी उडान स्थगित



बिजमाण्डू
२०८३ भदौ २१ गते १४:४१ | Sep 6, 2026
ज्वालामुखी विस्फोटपछि जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थलमा २०० बढी उडान स्थगित


इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी फेरि विस्फोट भएपछि निस्किएको खरानीका कारण उड्डयन क्षेत्र प्रभावित बनेको छ।

Vigo
GBIME
Tata

राजधानी जकार्तास्थित सुकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं उडानहरु स्थगित भएका छन्।  यसकारण हजारौं यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन्।

आइतबार बिहान जकार्ताको मुख्य विमानस्थल नजिकैको आकाशमा ज्वालामुखीको खरानी निस्किएपछि २०९ उडानहरु स्थगित भएका थिए।

स्थानीय अधिकारीहरुका अनुसार ज्वालामुखी शुक्रबार अबेर रातिदेखि विस्फोट हुन सुरु भएको थियो। यसका कारण सो क्षेत्रमा भूकम्पको कम्पन र लाभा निरन्तर महसुस र देखिएका थिए।

आइतबार बिहानै पुनः थप दुई पटक ठूला विस्फोट भएको बताइएको छ। जसकारण उडाननै स्थगनका गर्नुपरेको हो।

उडान रोकिँदा २२ हजार बढी यात्रुहरु प्रत्यक्ष प्रभावित भएका छन्। सुरुमा केही समयका लागि रोकिएको उडान सेवालाई पछि लम्ब्याइएको थियो। उडान स्थगित भएसँगै यसको असर सिंगापुर जाने र आउने उडानहरुमा परेको बताइन्छ।

साथै दोहा, सिड्नी, र क्वालालम्पुरलगायतका अन्य अन्तर्राष्ट्रिय गन्तव्यका उडानहरु पनि प्रभावित भएका छन्। 

जाभा र सुमात्रा टापुको बीचमा रहेको सुन्दा स्ट्रेटस्थित ज्वालामुखीको हालैको गतिविधिबाट सुनामीको भने कुनै जोखिम नरहेको अधिकारीहरुले बताएका छन्।

ज्वालामुखी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई घरभित्रै रहन र श्वासप्रश्वास, आँखा तथा छालाको सुरक्षाका लागि मास्क प्रयोग गर्न आग्रह गरिएको छ। हावामा फैलिएको खरानीका कारण विद्यार्थी र स्थानीय बासिन्दाहरुले आँखा पोल्ने समस्या बताएपछि विद्यालयहरु पनि बन्द भएका छन्।