काठमाडौं। बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित ‘स्विङ फर अ कज’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि पूर्णबहादुर राईले जितेका छन्।
रोटरी क्लब अफ हिमालयन गल्फर्स, नेपाल गल्फ संघ र गोकर्ण फरेस्ट रिसोर्टको संयुक्त आयोजनामा शनिबार गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा उक्त प्रतियोगिता भएको हो।
प्रतियोगितामा ८४ जना गल्फर सहभागी थिए। प्रत्येक सहभागीले १५ हजार रुपैयाँ योगदान गरेपछि प्रतियोगिताबाट कुल १२ लाख ६० हजार रुपैयाँ संकलन भएको छ।
संकलित सम्पूर्ण रकम बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा पूर्णबहादुर राईले ३७ अंक जोड्दै समग्र उपाधि जितेका छन्। अर्नव राणाले ३६ अंकसहित दोस्रो स्थान हासिल गरे।
समान ३६ अंक जोडेका ब्रिगेडियर जनरल विष्णुबहादुर कार्कीलाई काउन्टब्याकमा पछि पार्दै राणा उपविजेता बनेका हुन्। राणाले ब्याक नाइनमा १८ अंक जोडेका थिए भने कार्कीले १६ अंक बनाएका थिए।
नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित ‘बेस्ट ग्रस’ उपाधि जिते। महिलातर्फ तारा कार्की चित्रकार ३० अंकसहित पहिलो भइन् भने आरती राणा २१ अंकसहित दोस्रो भइन्।
६० वर्षभन्दा माथिको सिनियरतर्फ पूर्णमान शाक्य ३३ अंकसहित विजेता बने। बाबु शेर्पा ३१ अंकसहित दोस्रो भए। ७० वर्षभन्दा माथिको सुपर सिनियरतर्फ डा. फौदराज थेबेले ३२ अंकसहित उपाधि जिते।
टेन्जिङ छिरिङले ‘लङ्गेस्ट ड्राइभ’, ब्रिगेडियर जनरल विष्णुबहादुर कार्कीले ‘क्लोजेस्ट टु द पिन’ र टासी छिरिङले ‘मोस्ट बर्डिज’ अवार्ड जिते। टासीले प्रतियोगितामा ५ बर्डिज गरेका थिए।
च्यारिटी प्रतियोगितालाई सहयोग गर्दै गोकर्ण फरेस्ट रिसोर्टले सहभागी गल्फरबाट लिइने क्यापिटेसन तथा प्रतियोगिता व्यवस्थापन शुल्क मिनाहा गरेको थियो।
प्रतियोगिताका विजेतालाई सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, रोटरी क्लब अफ हिमालयन गल्फर्सकी आरती राज्यलक्ष्मी राणा, नेपाल गल्फ संघका अध्यक्ष ताशी घले तथा गोकर्ण फरेस्ट रिसोर्टका प्रबन्ध निर्देशक नर्बु छिरिङ शेर्पाले पुरस्कार प्रदान गरे।











