कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्न सुरु, १० दिनभित्र काम सक्ने तयारी



बिजमाण्डू
२०८३ भदौ १९ गते १२:०२ | Sep 4, 2026
कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्न सुरु, १० दिनभित्र काम सक्ने तयारी


चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम शुक्रबार बिहानदेखि सुरु गरिएको छ।

Vigo
GBIME
Tata

२ दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि शुक्रबार माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो।

निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्र्याक खोल्न थालिएको हो। माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन्।

छेउको भागबाट ७ मिटर पर ट्र्याक खोल्न लागिएको नेपालले जानकारी दिए। उनका अनुसार एक सातादेखि १० दिनभित्र ट्र्याक खोल्ने काम सकिने छ।

नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार २ दिन सफा गरेपछि काम अघि बढेको हो। सडकभन्दा करिब ९ मिटर अग्लो पहिलो डाँडालाई काटेर सडक खोल्न लागिएको हो।

ट्र्याक ३५० मिटर लामो हुनेछ। ७ मिटर चौडाइको ट्र्याक बनाउन लागिएको हो।

यसअघि सञ्चालनमा रहेको झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ। यहाँ १० मिटर फराकिलो सडक थियो।

त्रिशूली नदीले फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो। यही भदौ १४ गते उक्त सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ।

सरकारले यथासक्य छिटो यो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिइसकेको छ। भदौ महिनाभित्र कृष्णभीर सञ्चालन गर्नेगरी काम अघि बढाइएको छ।

उक्त सडकलाई मर्मतसम्भार गरिएपछि २०६० साल यता सो खण्डमा यातायात सञ्चालन सहज भएको थियो। सडकको दुवैतर्फ कडा चट्टान छ।

भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इन्जिनियर मिश्र बताउँछन्। अहिले सोही ठाउँमा समस्या आएको हो। गत वर्ष सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मत भइरहेको थियो। रासस